ककनीले फोहोर बोक्ने गाडीबाट १५ सयसम्म उठाउने

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक ट्रकबाट १५ सयसम्म प्रवेश शुल्क लिने भएको छ । १९ असारमा बसेको गाउँसभाले १ साउनदेखि फोहोर बोकेर बन्चरेडाँडा जाने साना गाडीलाई एक हजार र ठूला ट्रकलाई १५ सय रुपैयाँ प्रवेश शुल्क लिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सुमन तामाङले बताए ।

‘सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बन्चरेडाँडामा फोहोर व्यवस्थापन भइरहेको छ । उपत्यकाको फोहोर विसर्जनस्थल यहाँ भए पनि सबैतिरबाट बेवास्तामा परेको छ । त्यसैले अब साना गाडीलाई एक हजार र ठूला गाडीलाई १५ प्रवेश शुल्क लिन लागेका हौँ,’ तामाङले भने । उनका अनुसार स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेर प्रवेश शुल्क उठाउन लागिएको हो । 

सुमन तामाङ, अध्यक्ष, ककनी गाउँपालिका
सिसडोल ल्यान्डफिल साइट र बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइट निर्माण गर्दा भएको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनको अध्ययन गरेर फोहोरमैला व्यवस्थापनमा कडाइ गर्दै जान्छौं । इआइए रिपोर्ट अध्ययन गर्दै छौँ । रिपोर्टअनुसार कतिपय काम नभएको पाएका छौँ । अब एक्सनमा जान्छौंँ

फोहोरमैला व्यवस्थापनमा कडाइ गर्दै जाने निर्णय
गाउँपालिकाले सिसडोल ल्यान्डफिल साइट र बन्चरेडाँडा स्यानेटरी ल्यान्डफिल साइट निर्माण गर्दा भएको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनको अध्ययन गरेर फोहोरमैला व्यवस्थापनमा कडाइ गर्दै जाने भएको छ । गाउँपालिकाले इआइएअनुसार फोहोरमैला व्यवस्थापन नगरेकोसमेत आरोप लगाएको छ । ‘हामी इआइए रिपोर्ट अध्ययन गर्दै छौँ । इआइए रिपोर्टअनुसार कतिपय काम नभएको पाएका छौँ । त्यसमा अब एक्सनमा जान्छौंँ,’ अध्यक्ष तामाङले भने ।

हाल शनिबारबाहेक अन्य दिन एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहोर बन्चरेडाँडामा पुग्ने गरेको छ भने शनिबार करिब एक सय ५० ट्रक फोहोर बोकेर बन्चरेडाँडा पुग्ने गरेका छन् ।

बर्खामा फोहोर नउठ्ने समस्या समाधान गर्ने तयारीमा जुट्यो महानगर
काठमाडौं महानगरले विगतका वर्षहरूमा जस्तो बर्खामा फोहोर नउठ्ने समस्या समाधानका लागि तयारी सुरु गरेको छ । बर्खा लागेसँगै ल्यान्डफिल साइटसम्मको पहुँच सडक भत्किने र पहिरोले पुर्दा काठमाडौंका सडकमा हप्तौँसम्म फोहोर उठ्दैनथ्यो । महानगरअन्तर्गत वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार यस वर्षदेखि फोहोर नउठ्ने समस्या नहुने गरी महानगरले तयारी थालेको छ । ‘समस्यालाई मध्यनजर गरेर हामी तयारी गरिरहेका छौँ,’ श्रेष्ठले भने, ‘मुख्य समस्या बाटोकै हो । यसका लागि डोजर, लोडर तयारी अवस्थामा राखेका छौँ ।’

तीनपिप्लेदेखि नुवाकोटको सिसडोल सडकखण्डमा बर्खाका वेला धेरै समस्या आउने गरेको छ । यसबाहेक महानगरले ल्यान्डफिल साइट सिसडोलमा पर्खाल लगाउने कामसमेत गरिरहेको छ । महानगरसहित उपत्यकाको १७ स्थानीय तहका फोहोर हाल बन्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । यी सबै स्थानीय तहबाट दैनिक १० देखि १२ टन फोहोर उत्पादन हुने गर्छ । 

महानगरले बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न थालेको करिब एक वर्ष हुन लागिसकेको छ । बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्नुभन्दा अघि महानगरले १८ वर्षसम्म सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गरेको थियो । यद्यपि, यो साइट महानगरले तीन वर्षका लागि लिएको थियो । बन्चरेडाँडामा फोहोर फाल्न सुरु गरेलगत्तै महानगरले २६ जेठमा जनप्रतिनिधिहरूसँग मध्यरातमा गरेको सम्झौताअनुसार सिसडोल ‘पोस्ट क्लोजिङ’ (पुर्ने)को वैज्ञानिक अध्ययन गराई अध्ययनअनुसार ६ महिनाभित्र काम सक्ने उल्लेख छ । तर, हालसम्म पोस्ट क्लोजिङ त के अध्ययनसमेत अघि बढेको छैन ।

पोस्ट क्लोजिङका लागि सिसडोलको वातावरणीय अध्ययन गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)सँग सम्झौता भएको थियो । महानगरले सिसडोलको जल प्रदूषण, वातावरण प्रदूषणलगायत वातावरणीय पक्षको अध्ययनका लागि रिकास्टसँग १० लाखमा सम्झौता गरेको छ । रिकास्टका कार्यकारी निर्देशक प्राध्यापक डा. रामनाथप्रसाद यादवका अनुसार महानगरसँग सिसडोल अध्ययनका लागि सम्झौता भए पनि अझै केही प्रक्रिया पुगेको छैन । ‘सिसडोलको वातावरणीय अध्ययनका लागि सम्झौता भयो । यसका लागि केही प्रक्रिया पुर्‍याउन बाँकी छ । हाम्रो टिमले मात्रै नपुगेर अरू विज्ञ पनि राख्नुपर्ने हुन्छ । अब केही दिनमै अध्ययन थाल्छौँ,’ यादवले भने ।

यसअघि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले पटक–पटक सिसडोलको अध्ययन गरेको थियो । महानगरले सिसडोललाई पहिलेकै स्वरूपमा ल्याउन बजेटको समस्या नभएको विभाग प्रमुख श्रेष्ठले बताए । त्यहाँ कुनै वेला फोहोर फालिन्थ्यो भन्ने खालको अवस्थासमेत नरहने गरी काम गर्ने उनको भनाइ छ । महानगरले आर्थिक वर्ष ०७९/८० कै बजेटमा सिसडोल ल्यान्डफिल साइट ‘पोेस्ट क्लोजर’ तथा ‘लिच्चड ट्रिटमेन्ट प्लान्ट’ तथा पार्क निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरेको थियो । 

बन्चरेडाँडाको अध्ययन गर्न नास्टसँग सम्झौता 
स्थानीयको मागअनुसार बन्चरेडाँडाको पनि वातावरणीय अध्ययन हुने भएको छ । अध्ययनका लागि नास्टसँग हालै सम्झौता भएको छ । महानगरका अनुसार नास्टले १९ लाखमा बन्चरेडाँडा क्षेत्रको अध्ययन गर्नेछ । वातावरण विभाग प्रमुख श्रेष्ठले नास्टले चार महिनामा अध्ययन प्रतिवेदन बुझाउने गरी सम्झौता भएको बताए । नास्टले बन्चरेडाँडा क्षेत्रमा फोहोरमैलाका कारण प्रभावित र अति प्रभावित क्षेत्र छुट्याउनेलगायतको अध्ययन गर्नेछ । 

स्रोतमै फोहोर वर्गीकरण कहिले ?
महानगरले वैशाख ०७९ मा जारी गरेको सूचनामा १ साउनदेखि महानगरवासीले स्रोतमै फोहोर पृथकीकरण (वर्गीकरण) गर्नुपर्ने उल्लेख थियो । तर, उक्त कार्य अझै सुरु हुन सकेको छैन । फोहोर छुट्याएर राख्ने ठाउँ अभाव भएको भन्दै महानगरले उक्त कार्य अगाडि बढाउन नसकेको जनाएको छ । महानगरले १ साउनदेखि वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, ०७७ र फोहोरमैला व्यवस्थापन ऐन, ०६८ को हबाला दिँदै महानगरवासीलाई स्रोतमै फोहोरको पृथकीकरण गर्न आग्रह गरेको थियो । 

See More On

सुझावित समाचार