बैंकहरूलाई महँगो निक्षेपको बोझ

तरलतामा चाप हुँदा महँगो ब्याजमा तानिएको निक्षेपको म्याद नसकिएसम्म लागत घटाउन चुनौती

बिहिबार, २८ असार, २०८०
डिजिटल संस्करण

केही समयअघिसम्म तरलतामा चाप परेसँगै आकर्षक ब्याजदर दिएर तानिएको निक्षेप अहिले बैंकहरूलाई बोझ बन्न थालेको छ । बैंकहरूमा लगानीयोग्य पुँजी सहज भए पनि महँगो ब्याजमा लिइएको मुद्दती निक्षेपको म्याद सकिएको छैन । त्यस्तो, निक्षेपको म्याद नटुंगिएसम्म अपेक्षित रूपमा ब्याजदर घटाउन नसकिएको र नयाँ कर्जा विस्तारमा समेत केन्द्रित हुन नसकेको बैंकरहरूको भनाइ छ ।

पुरानो मुद्दती निक्षेपको अवधि पूरा भएर अहिलेको ब्याजदरमा नवीकरण नहुँदासम्म पहिलेकै ब्याजदर कायम हुने भएकाले निक्षेपको ब्याजदर घटे पनि बैंकहरूको निक्षेपको औसत लागत नघटेको हो । जसले गर्दा कर्जाको ब्याजदर पनि सोचेअनुरूप घट्न सकेको छैन । मुद्दतीमा महँगो निक्षेपको अनुपात बढी रहेकाले अपेक्षित रूपमा ब्याजदर घटाउन नसकिएको बैंकरहरूको भनाइ छ ।बैंक तथा वित्तीय संस्थासँग अहिले चार खर्ब कर्जा लगानी गर्न सक्ने क्षमता छ । तर, उनीहरूले कर्जा विस्तार गर्न सकेका छैनन् । यस्तो अवस्थामा पनि बैंकहरूले अपेक्षित रूपमा ब्याजदर घटाउन सकेका छैनन् । 

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा संकलित निक्षेपमा मुद्दती निक्षेपको अंश ५९.५४ प्रतिशत छ । वाणिज्य बैंकहरूमा यो अनुपात ५८.२० प्रतिशत छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५४ खर्ब ९५ अर्ब निक्षेप संकलन गरेका छन् । जसअनुसार मुद्दती मात्रै ३२ खर्ब ७१ अर्ब रुपैयाँ छ । वाणिज्य बैंकहरूको हकमा ४८ खर्ब ४२ अर्ब पुगेको थियो । जसअनुसार मुद्दतीको अंश २८ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।

एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले कुल मुद्दती निक्षेपमा करिब ९० प्रतिशत हिस्सा महँगो ब्याजदरको रहेको छ । महँगो ब्याजदर रहेको मुद्दतीको म्याद सकिन समय लाग्ने भएकाले बजारमा अपेक्षित रूपमा ब्याजदर घटाउन नसकिएको उनको भनाइ छ ।

विगतमा लगानीयोग्य पुँजीको चाप परेको समयमा निक्षेप आकर्षित गर्न बैंकहरूले मुद्दती निक्षेपमा विशेष योजना ल्याएका थिए । गत वर्ष अधिकांश बैंकले पाँचदेखि १० वर्ष अवधिको मुद्दती निक्षेपमा दोब्बरदेखि १० गुणासम्म पु¥याउने योजना ल्याएका थिए । त्यस्तै, नेपाल राष्ट्र बैंकले समेत रेमिट्यान्स आकर्षित गर्न रेमिट्यान्स मात्रै बचत गर्ने खातामा १ प्रतिशत अतिरिक्त ब्याजदर दिने सुविधा ल्याएको थियो । 

निक्षेपमा ब्याजदर बढाउने होडबाजी चलिरहँदा बैंकहरूले मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने अवस्था बन्यो । जसकारण अहिले महँगो ब्याज तिरेर आकर्षित पारिएको मुद्दती निक्षेप बैंकहरूका लागि भार बनिरहेको छ । गत वर्ष पुससम्ममा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ र साधारण बचतमा ७.१३३ प्रतिशत ब्याज दिइरहेका थिए ।

 ०७८ वैशाखमा तीनदेखि ६ महिना अवधिको मुद्दती निक्षेपको ब्याजदर ६.७९ प्रतिशत र ६ देखि १२ महिनाको ७.२९ प्रतिशत थियो । हाल यी दुवै अवधिका निक्षेपको ब्याजदर करिब ११ प्रतिशत छ । गत वैशाखमा बचतको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुगेको थियो । हाल वाणिज्य बैंकहरूले साधारण निक्षेपमा ५.४ देखि ७.४ प्रतिशतसम्म र मुद्दतीमा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।

महँगा निक्षेपकोअवधि बिस्तारै सकिन्छ
सुदेश खालिङ, एभरेष्ट बैंक

विगतमा बैंकहरूले निक्षेप आकर्षित गर्न मुद्दती १२–१३ प्रतिशतसम्ममा ब्याज दिनुपर्यो । रेमिट्यान्स खातामा त १५ प्रतिशतसम्म ब्याज दिइएको थियो । त्यस्तै, ५–१० वर्षमा दोब्बर हुने भन्दै मुद्दती जम्मा गरिएको थियो । त्यस्तो अवस्थामा बचत निक्षेपजति जम्मै मुद्दतीमा आकर्षित भए । अहिले कुल निक्षेपमा ६० प्रतिशतभन्दा बढी हिस्सा मुद्दतीको छ । उच्च लागतका मुद्दती निक्षेपको म्याद नसकिएसम्म घटेको ब्याजदरको असर बजारमा देखिने स्थिति छैन । महँगा निक्षेपको म्याद नसकिएसम्म बैंकहरूको खर्च बढ्ने हुँदा ब्याजदर सोचेजति घट्ने स्थिति रहँदैन । तर, बिस्तारै यस्तो निक्षेप घट्दै जान्छ । 

 ब्याजदरमा गरिँदै आएको भद्र सहमति हट्ने, साउनमा निक्षेपको ब्याजदर सस्तिँदै
 नेपाल बैंकर्स संघले साउनबाट ब्याजदर निर्धारण गर्दै आएको भद्र सहमति हटाउने भएका छन् । विगतमा तरलतामा चाप पर्दै गएपछि बैंकहरूमा ब्याजदर वृद्धि गर्ने प्रतिस्पर्धा बढेको कारण राष्ट्र बैंकको आग्रहमा बैंकर्सले भद्र सहमतिका आधारमा ब्याजदर निर्धारण गर्दै आइरहेका थिए । तर, बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुन थालेपछि साउनबाट ब्याजदरसमेत घटाउन लागिएको  एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले जानकारी दिए 

केही महिनायता शोधनान्तर स्थिति बचतमा गइरहेको र रेमिट्यान्ससमेत उल्लेख्य वृद्धि हुन थालेपछि निक्षेप संकलन बढ्दै गइरहेको छ । यद्यपि, बैंकहरूको कर्जा लगानी भने स्थिर नै देखिन्छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ५७ खर्ब १३ अर्ब पुगेको छ । जसमा वाणिज्य बैंकहरूको मात्रै ५० खर्ब ४६ अर्ब छ । असारमा तुलनात्मक रूपमा सरकारी खर्च बढ्दा निक्षेपमा समेत वृद्धि भइरहेको छ । बैंकिङ प्रणालीमा चार खर्बभन्दा धेरै कर्जा लगानीयोग्य पुँजी थुप्रिएपछि बैंकहरूले साउनमा निक्षेपको ब्याजदर घटाउने तयारी गरेका हुन् । 

संघले बिहीबार बिहान बैठक आह्वान गरेको एक पदाधिकारीले जानकारी दिए । १ साउनदेखि लागू हुने निक्षेपको ब्याजदरलगायतका विषयमा छलफल गर्न बैंकर्स संघको बैठक बस्न लागेको हो । ब्याजदर घटाउने विषयमा मोटामोटी सहमति भए पनि भद्र सहमति हटाउने सम्बन्धमा ठोस निर्णय लिन लागिएको उनको भनाइ छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएर नेपाल राष्ट्र बैंकले तरलता खिच्दै आइरहेको छ । राष्ट्र बैंकका अनुसार अन्तरबैंक ब्याजदर १.१० प्रतिशतसम्म आइपुगेको छ । कुनै समय ८ प्रतिशत नाघेको ब्याजदर तरलता अधिक भएपछि घट्दै गइरहेको छ । जसकारण राष्ट्र बैंकले रिभर्स रिपो जारी गरिरहेको छ । 

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिएको उच्च ब्याजदरको औसत निकाले त्यसको १० प्रतिशतले मात्रै निक्षेपको ब्याजदर घटबढ गर्न सक्ने व्यवस्था गरेको छ । अहिले सबै वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याजदर दिँदै आएकाले १ साउनदेखि लागू हुने ब्याजदरमा बैंकरले ९.९९ को १० प्रतिशतले मात्रै ब्याजदर घटाउन सकनेछन् । 

त्यसैले साउनमा निक्षेपको ब्याजदर अधिकतम ८.९९ प्रतिशतसम्म हुन सक्ने देखिएको छ । असारका लागि वाणिज्य बैंकहरूले साधारण निक्षेपमा ५.४ देखि ७.४ प्रतिशतसम्म र मुद्दतीमा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याजदर 
दिइरहेका छन् ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीति तर्जुमाको तयारी गरिरहेको छ । जेठ मसान्तको तथ्यांकमा मुद्रास्फीति चालू आर्थिक वर्षको मौद्रिक नीतिको लक्षित सीमाभित्र आएको र शोधनान्तर बचत उल्लेख्य रूपमा बढ्नुको साथै विदेशी विनियम सञ्चिति पनि सहज अवस्थामा पुगेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ८२.०३ प्रतिशत छ । बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था छ ।

See More On

सुझावित समाचार