२० वर्षपछि खुल्यो बारुद खानाभित्रबाट सडक

बुधबार, २७ असार, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरअन्तर्गत चःमती जग्गा एकीकरण आयोजनाभित्र रहेको नेपाली सेनाको स्वयम्भू बारुद खाना (जर्मन क्वाटर)को कम्पाउन्डभित्रबाट मूल सडकसँग जोडिने सडक खुलेको छ । जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षे अवधिमा सडक खुल्न सकेको थिएन । यो सडक बारुदखानाको कम्पाउन्डभित्रबाट जानुपर्ने आयोजनास्थलको तीन र ६ मिटरको बाटो हो । महानगर प्रमुख बालेन्द्र साह (बालेन)को पटक–पटकको प्रयासपछि यो सडक खुलाउन सम्भव भएको आयोजना प्रमुख निर्मलराज बरालले बताए । यो बाटो खुलेसँगै बाँकी संरचना बनाउन कुनै समस्या नभएको महानगरले जनाएको छ । 

आयोजनाका लागि बाटो खुलाउन महानगरका जनप्रतिनिधि, कर्मचारीले लामो समयदेखि प्रयास गर्दै आएका थिए । तर, सम्भव भएको थिएन । ‘५ असार ०७९ मा महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा व्यवस्थापन उपसमितिका संयोजक बालेन्द्र साह (बालेन)ले फिल्ड निरीक्षण गर्नुभएको थियो । नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्न प्रधानसेनापतिसँग भेटेर समाधानका लागि छलफल गर्नुभयो । यसपछि सडक खोल्ने वातावरण तयार भयो । अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मूल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ तीन मिटर चौडाइ भएको सडक खोलिएको छ,’ आयोजना प्रमुख बरालले भने । 

आयोजनका अझै  धेरै काम बाँकी
असार मसान्तमा हस्तान्तरणको चरणमा रहेको आयोजना क्षेत्रभित्र अझै सिसिटिभी जडान बाँकी छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीसँग समन्वय गरेर सिसिटिभी राख्ने तयारी भइरहेको छ । यसका लागि प्रहरी कार्यालयमा इस्टिमेट पठाइसकेको छ । आयोजनाले गरेको इस्टिमेटअनुसार सडकबत्ती राख्न ४० लाख ५५ हजार लाग्नेछ । १० वटा पार्क बनाउन डिजाइन फाइनल भएको छ । आयोजनाभित्रै दुईवटा प्रशासनिक भवन निर्माण बाँकी छ । भवन निर्माणका लागि टेन्डर प्रक्रियामा छ । वडा १५ र १६ भित्रको पूर्वमा विष्णुमती नदी, पश्चिममा स्वयम्भू भगवानपाउ वनस्थली सडक, उत्तरमा बालाजु—वनस्थली चक्रपथ (ट्र्याक रोड) र दक्षिणमा स्वयम्भू—भगवानपाउ—विजेश्वरी हुँदै शोभा भगवती मन्दिरसम्म फैलिएको भूगोल आयोजना क्षेत्र हो । 

आयोजनाभित्र करिब एक हजार तीन सय ६९ रोपनी जग्गा छ । ५ वैशाख ०६० मा आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सूचना जारी भयो । यसपछि सहरीकरणबाट विकास व्यवस्थापन र सुविधा वितरणमा समानता ल्याउन आयोजनाभित्रको ७२ प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्याएर जग्गा विकासको काम थालिएको हो ।

आयोजना ढिलो हुनुको कारणमध्ये सुरुवाती दिनमा केही स्थानीय आयोजनाविरुद्ध सर्वोच्व अदालत पुग्नु पनि हो  । करिब तीन वर्ष (मुद्दा चलिन्जेल) आयोजनाको काम शून्य अवस्थामा रह्यो । कसैलाई विस्थापित पनि नगर्नु, आयोजना पनि अगाडि बढाउनु भन्ने सर्वोच्चको फैसलापछि आयोजनाको काम सुरु भएको थियो । यसबीचमा जनप्रतिनिधि नहुनु, आयोजना प्रमुख पटक–पटक फेरिनु, ऐन–कानुनी झन्झटका कारणसमेत आयोजनाले गति लिन सकेन ।

सुझावित समाचार