सिद्धिगणेश माविको घुस प्रकरण : पक्राउमा स्थानीयको अवरोधपछि प्रहरी टोली खटियो

मंगलबार, २६ असार, २०८०
डिजिटल संस्करण

कागेश्वरी मनोहरास्थित श्री सिद्धिगणेश माविका प्रधानाध्यापक बुद्धिविलास धिताल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि प्रहरी खटिएको छ।

आयोगको टोलीले उनीहरूलाई मंगलबार दिउँसो १६ हजार रुपैयाँ घुससहित  नियन्त्रणमा लिएको थियो। तर, स्थानीयहरू जम्मा भएर उनीहरूलाई लैजान नदिएपछि प्रहरी टोली खटिएको हो। प्रहरी वृत्त बौद्धबाट डिएसपी हरिबहादुर बस्नेतको नेतृत्वका प्रहरी टोली खटिएको छ।

शिक्षक नियुक्तिसम्बन्धी विवादमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले घुस लिएको उजुरीपछि आयोगको टोलीले उनीहरूलाई गागलफेदी बसपार्कबाट रंगेहात नियन्त्रणमा लिएको हो।

उच्चमावि तहका लागि हालै विद्यालयले एक शिक्षक नियुक्त गरेको थियो। तर, उनलाई आठ कक्षासम्म मात्र पढाउन दिइएको थियो। आफूलाई उच्च माविमा पढाउन नदिएपछि शिक्षकले राजीनामा दिएका थिए। तर, शैक्षिक प्रमाणपत्र फिर्ताका लागि विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले घुस मागेको उनले बताएका छन्।

सुरुमा २० हजार मागेको र पछि १६ हजारमा सहमति भएको थियो। घुस लिएलगत्तै उनीहरू पक्राउ परेपछि केही स्थानीयले अख्तियारको टोलीलाई अवरोध गरेका छन्। जसकारण प्रहरी टोली खटिएको काठमाडौं प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीले बताए।

सुझावित समाचार