प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले माग्दैमा राजीनामा नदिने तर आफ्नो आत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा धारणा राख्दै प्रधानमन्त्री प्रचण्डले विगतमा पनि आफ्नो अन्तरआत्माले घचघच्याएपछि सहज रूपमै प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताए।
‘अहिले पनि तपाईंले भनेर त म गर्न सक्दिनँ, मेरो अन्तर आत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ म,’ केही दिनअघि आफूले बोलेको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले बारम्बार संसद् अवरोध गरेपछि जवाफ दिन आज उभिएका प्रधानमन्त्रीले भने।
उनले प्रतिपक्षले राजीनामा माग्नेबित्तिकै राजीनामा दिनुपर्ने संस्कार बसाउन नहुने बताए। विगतमा पनि उनले आफूबाट भएका कमजोरीलाई तर, किन्तु, परन्तु केही नभई सच्याउने गरेको बताए।
प्रधानमन्त्रीभन्दा अघि बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिको जवाफमा उनले नैतिकता भएकै कारण पहिले पनि आफूले राजीनामा दिएको इतिहास रहेको बताए।
‘राजेन्द्र लिङ्देनजीले नैतिकताको कुरा भन्नुभयो, नैतिकताको आधारमा कसले कति गर्यो भनेर विगत हेर्नुभयो भने त्यो स्पष्ट हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘विगतमा पनि आफूले सहज ढंगले आत्मसमीक्षा गर्ने र सच्याउने प्रतिबद्धता गर्ने व्यक्तिमा पर्दछु।’