कम पेट्रोलियम ढुवानी गर्ने ट्यांकरलाई संरक्षण गर्दै आयल निगम

सोमबार, २५ असार, २०८०
डिजिटल संस्करण

लोड गरिएको भन्दा कम पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरलाई कारबाही नगरी नेपाल आयल निगम डिपो महेन्द्रनगर धनुषाले संरक्षण गरेको आरोप लागेको छ । गत ३ असारमा लक्ष्मीनिया गाउँपालिका–६ मा रहेको युआरडी ट्रेडर्स एन्ड सप्लायर्स नामक पेट्रोलपम्पमा ट्यांकर नम्बर ना.७ख १५०६ बाट सात हजार नौ सय ४७ लिटर पेट्रोल ल्याइएको थियो । तर, पम्प सञ्चालकलाई शंका लागेर ट्यांकरका चेम्बरहरूमा रहेको पेट्रोलियम परीक्षण गर्दा सय लिटर कम पाइएको थियो ।

 त्यसपछि पम्प सञ्चालिका उर्मिला कुमारीले नियम डिपो महेन्द्रनगर धनुषाका प्रमुख दिलीप चौधरीलाई जानकारी गराइन् । त्यसपछि सो डिपोबाट सोही दिन पाँचजनाको टोलीले पम्पमै आएर ट्यांकरमा लोड गरी राखिएको पेट्रोलको परीक्षण गरेको थियो । 

पेट्रोलको परिमाण सय लिटर कम भेटिएपछि ट्यांकरलाई कारबाहीका लागि सञ्चालिका उर्मिलालाई निवेदन दिन आग्रह गरियो । सोही आग्र्रहअनुसार पम्प सञ्चालिकाले ७ असारमा डिपो कार्यालय महेन्द्रनगरमा निवेदन दिइन् । तर, निवेदन दिएको दुई साता बित्दासमेत कार्यालय प्रमुख चौधरीले कारबाही प्रक्रिया  अगाडि नबढाएको उनले गुनासो गरिन् ।  

ट्यांकर कारबाहीका लागि नेपाल आयल निगमका निर्देशक, धनुषाका प्रमुख जिल्ला अधिकारी, नायब कार्यकारी निर्देशक तथा व्यवस्था विभाग, नेपाल आयल निगमको वितरण विभाग र पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामलाई समेत बोधार्थ पठाइएको उनले बताइन् ।

महेन्द्रनगर डिपो प्रमुख चौधरीले ट्यांकर सञ्चालकलाई कारबाही गर्नुको साटो संरक्षण गरिरहेको आरोप लगाइन् । ‘डिपोमा निवेदन दिएको झन्डै दुई साता भइसकेको छ,’ उनले भनिन्, तर ‘प्रमुख चौधरीले ट्यांकर सञ्चालकलाई कारबाही गर्नुका साटो आफ्नो निवेदनसमेत दर्ता गर्न आनाकानी गर्दै आउनुभएको छ ।’ ट्यांकर सञ्चालकलाई कारबाही प्रक्रिया अगाडि नबढाई मिलापत्र गर्न दबाब दिएको उनले बताइन् । 

नेपाल आयल निगमको नियमअनुसार कम ढुवानी गर्ने ट्यांंकरलाई कम्तीमा तीन महिना लाइसेन्स निलम्बन गर्ने अधिकार छ । यता, डिपो प्रमुख चौधरीले भने घटनाको छानबिन गरी प्रतिवेदनका आधारमा प्रक्रिया अगाडि बढाउने बताए । यो विषयमा बढी थप कुरा भने उनले गर्न चाहेनन् । 

सुझावित समाचार