ग्वार्को फ्लाई ओभरको डिजाइनमा समस्या देखिएपछि निर्माण रोकिनुलाई कसरी हेर्नुभएको छ ?
कुनै पनि आयोजना गुणस्तरीय हिसाबमा तयार हुन यसका बहुआयामिक पक्षमा ध्यान पुर्याउनुपर्छ । तर, हामीकहाँ कुनै पनि आयोजनाका लागि बजेट छ भने तत्काल ठेक्का लगाइहाल्नुपर्छ भन्ने सोच छ । हाम्रा पूर्वाधार आयोजनाहरू कमजोर हुनु, पटकपटक डिजाइन परिवर्तन हुनु, लगानी थपिँदै जानु र समयमै पूरा नहुनुमा हाम्रो कर्मचारी तन्त्र, ठेकेदार समूह, प्राविधिक कर्मचारी, राजनीतिक नेतृत्वलगायत सबै जिम्मेवार छन् । ग्वार्को फ्लाई ओभरमा पनि भएको यही हो ।
यसरी डिजाइनमै समस्या आउनुको कारण के हुन सक्छ ?
हामीकहाँ प्राविधिक कार्यविधिको समस्या छ । पिपिआर बनाउँदा नै कुनै पनि आयोजनाको चुस्त दुरुस्त डिजाइन बन्नुपर्छ । डिजाइन सही र उपयुक्त छ कि छैन भन्ने विषयम बहुपक्षीय सरोकारवालाहरूबिच सेमिनारसमेत हुनुपर्छ । तर, हामीकहाँ पिपिआर तयार गर्न कुनै कन्सलट्यान्ट नियुक्त गरिसकेपछि उसले पनि बजेटको सीमिततालाई हेरेर जुनियर प्राविधिकलाई काम लगाउने चलन छ । यसले गर्दा प्राविधिक तयारीमै कमजोरी हुन्छ । सरकारी निकाय, निर्माण व्यवसायी र प्राविधिक कन्सलट्यान्टहरूको लापरबाहीले यसरी डिजाइनमै समस्या आउने गर्छ ।
हामीसित प्राविधिक क्षमता नभएर यस्तो भएको त होइन नि ?
हामीसित प्राविधिक क्षमता नभएको होइन । यहाँ कैयौँ इन्जिनियरिङ कलेजहरू छन् । तिनले बर्सेनि पर्याप्त इन्जिनियरहरू उत्पादन गरिरहेका छन् । तर, हामीले शिक्षा मात्र दियौँ, तिनलाई व्यावहारिक रूपमा सशक्त बनाउनतिर ध्यान दिएनौँ । हामीले व्यक्तिमा भएको ज्ञानलाई राष्ट्रिय र संस्थागत रूपमा जोड्न सकेनौँ ।