कांग्रेस दोलखा जिल्ला सभापति बर्मा लामालाई तीन प्रश्न

आइतबार, २४ असार, २०८०
डिजिटल संस्करण

पार्टीको पछिल्लो स्थितिप्रति कति सन्तुष्ट हुनुहुन्छ ?
पार्टीको पछिल्लो स्थिति हेर्दा कुनै पनि कोणबाट सन्तुष्ट हुन सक्ने स्थिति छैन । माथिल्लो तहका नेताहरू एक भएर आउन छाड्नुभयो । उहाँहरूबिच एकता भएन । गत वर्षको स्थानीय र आमनिर्वाचन हुँदै पछिल्लो उपनिर्वाचनसम्म आइपुग्दा जनतामा पार्टीप्रतिको विश्वास घट्दो क्रममा रहेको प्रस्ट भएको छ । पार्टी केन्द्रका टप फाइभ नेताहरूबीच एकमत नदेखिँदा त्यसको प्रभाव तल्लो तहसम्मै पुगेको छ । त्यसैले, पार्टीका लागि अबका दिन थप चुनौतीपूर्ण हुने देखिन्छ ।

जिल्ला सभापति भेलाबाट पार्टी नेतृत्वलाई कस्ता सुझाब दिनुभयो ?
सबैभन्दा पहिले तपाईंहरू एक भएर आउनुहोस् भन्ने सुझाब दियौँ । दोस्रो, भ्रष्टाचार न्यूनीकरणका लागि ठोस नीति तयार गरेर पार्टी अगाडि बढोस् । तेस्रो, पार्टीको तल्लो तहसम्मका नेता, कार्यकर्ताका लागि नियमित र व्यवस्थित प्रशिक्षणको व्यवस्था गरियोस् । चौथो, नेतृत्वमा रहेका कुनै पनि नेताले बाहिर बाहिर विमति देखाउँदै हिँडेर हुँदैन, पार्टीको आधिकारिक फोरममा छलफल गर्नुहोस् र एउटै मत बनाएर सार्वजनिक गर्नुहोस् । यस्तै प्रकृतिका सुझाब हामीले दिएका छौँ ।   

अबका दिनमा पार्टी कसरी अघि बढ्नुपर्छ ?  
लोकतान्त्रिक पार्टीमा वैचारिक निकटताका आधारमा समूह हुन सक्छन् । तर, त्यसले पार्टीलाई हानि पुर्याउनु हुँदैन । त्यसैले, विमति या असहमति छन् भने तिनलाई आन्तरिक रूपमै व्यवस्थापन गरी संस्थागत रूपमा अघि बढ्न सक्नुपर्छ । महाधिवेशनबाट कार्यकर्ताले चुनेको नृतत्वलाई सबैले सहयोग गर्नैपर्छ । मन पर्दैन भने उसलाई अर्को महाधिवेशनबाट पराजित गरेर आफू नेतृत्वमा जाँदा हुन्छ ।   

सुझावित समाचार