आचारसंहिता, कार्यविधि र कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल, प्रदेशस्तरीय सभा गरिने, शीर्ष नेताले सम्बोधन गर्ने
आलोपालो नेतृत्वको सैद्धान्तिक सहमतिअनुसार चार दलको समाजवादी मोर्चाको संयोजनको जिम्मा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पाएका छन् । नेपालकै अध्यक्षतामा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा शनिबार बसेको मोर्चाको पहिलो बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको छ ।
सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा स्थापित र कार्यान्वयन गर्ने रणनीतिसहित संसद्भित्र र बाहिरका चार दल मिलेर ४ असारमा समाजवादी मोर्चा निर्माण गरेका थिए । भविष्यमा पार्टी एकतासम्मको लक्ष्य राखेर गठन भएको मोर्चामा माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपा छन् ।
प्रदेशस्तरीय सभाको मिति भने आगामी २७ असारमा बस्ने मोर्चाको बैठकले टुंगो लगाउने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । ‘सभामा शीर्ष नेताहरूले मोर्चाको उद्देश्य र अहिलेको समाजवादी आन्दोलनलाई अगाडि बढाउने विषयमा सम्बोधन गर्नुहुनेछ,’ पाण्डेले भने ।
पाण्डेका अनुसार आगामी बैठकको अध्यक्षता पनि नेपालले नै गर्नेछन् । नेतृत्वको विषय समझदारीमा हुने माओवादी महासचिव देव गुरुङले बताए । उनले भने, ‘नेतृत्व आलोपालो गर्ने भन्ने छ । यो समझदारीमा हुने कुरा हो । अहिले उहाँ (नेपाल)ले संयोजन गर्नुभयो ।’
नेतृत्व आलोपालोको समझदारी रहेको र कार्यविधि बन्न बाँकी रहेको अवस्थामा नेपाललाई संयोजन गर्ने जिम्मा दिइएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । उनले भने, ‘नेतृत्व आलोपालो भन्ने नीति छ । हामी कार्यविधि बनाउँदै छौँ । अहिले उहाँ (नेपाल)लाई नै संयोजन गर्नुस् भनेका छौँ,’ उनले भने । नेपालको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा महासचिव नेत्रविक्रम चन्द्रसहित चारवटै दलका दोस्रो तहका नेता पनि सहभागी थिए । गठनको १९ दिनपछि मोर्चाको पहिलो बैठक बसेको हो ।
बैठकले मोर्चाको आचारसंहिता, कार्यविधि र कार्यक्रम तय गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सदस्य छन् । मोर्चाले आचारसंहिता, कार्यविधि र कार्यक्रमको मस्यौदा तयार पारेर आगामी बैठकमा प्रस्तुत गर्नेछ । कार्यदलले प्रतिवेदनमा संगठनात्मक संरचना र नेतृत्वको आलोपालोको मोडालिटी पनि समेट्नेछ ।
मोर्चाको अर्काे बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी बनाउनेछ । शीर्ष नेताबीच मोर्चाको नेतृत्व ६–६ महिना आलोपालो गर्ने समझदारी छ । मोर्चाको ठूलो दल माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकाले नेपालले बैठकको संयोजन गरेको नेताहरूले बताएका छन् ।
दलले संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक–आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना प्रमुख उद्देश्य राखेर मोर्चा बनाएका थिए । उद्देश्य प्राप्तिका लागि मोर्चाका १५ बुँदे वैचारिक–राजनीतिक प्रतिबद्धता छन्, जसमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दैै समाजवादको नेपाली बाटो तय गर्नेलगायत उद्देश्य समेटिएको छ । राष्ट्रिय राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक समस्या र चुनौतीको सामना गर्न तथा देशलाई अग्रगामी निकास दिन समाजवादी शक्तिहरू एकताबद्ध भएको नेताहरूको दाबी छ ।
१९ दिने समीक्षा : मोर्चा गठनबाट विपक्षी आत्तिए
पहिलो बैठकले मोर्चा गठनपछिको १९ दिनको समीक्षा गरेको छ । मोर्चाले राम्रो सन्देश प्रवाह भएको माओवादी महासचिव गुरुङले बताए । ‘मोर्चा गठनबाट राम्रो सन्देश गएको छ । पहिलो बैठक बस्न अलि ढिला भयो । अब नियमित बैठक बस्ने र मोर्चालाई प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने छ,’ उनले भने । मोर्चा गठनले देशव्यापी रूपमा राम्रो सन्देश गएको निष्कर्ष निकालिएको नेकपा प्रवक्ता विश्वकर्माले बताए । ‘मोर्चा गठनले चार पार्टीभित्र, इमानदार कम्युनिस्ट र देशभक्तहरूमा राम्रो सन्देश गएको छ । जनतालाई आशावादी बनाएको छ भन्ने हाम्रो निष्कर्ष रह्यो,’ उनले भने । मोर्चाले देशका विद्यमान समस्या समाधान गर्ने उनले बताए । दलाल र विदेशी तŒव भने मोर्चा गठनबाट आत्तिएर अफवाह फैलाउन लागेको उनले दाबी गरे ।
मोर्चाको पहिलो बैठक बस्न ढिलाइ भएको र आगामी दिनमा बैठक नियमित गर्नुपर्नेमा शीर्ष नेताहरूको एकमत छ । ‘मोर्चा गठनपछि पहिलो बैठक बस्न नसकेको परिस्थितिबारे बैठकमा छलफल भयो । ‘मोर्चाको पहिलो बैठक बस्न ढिलाइ भयो । आगामी दिनमा नियमित बैठक बस्ने र एजेन्डामा काम गर्ने भन्ने छ,’ पाण्डेले भने ।