काभ्रेपलाञ्चाेक मन्डनदेउपुरमा रहेका सम्पदा संरक्षणमा स्थानीय सरकार गैरजिम्मेवार बनेको भन्दै पुरातत्त्व विभागले स्थानीय सम्पदा जोगाउन पत्र काटेको छ।
मण्डनदेउपुर नगरपालिकाले अनधिकृत रूपमा मन्दिर मास्न थालेपछि पुरातत्त्वले त्यसको संरक्षणको जिम्मा पनि स्थानीय तहकै रहेको ठहर गर्दै यस्तो निर्देशन दिएको हो।
यसअघि विभागबाट खटिएका पुरातत्व अधिकृत र पुरातत्वविद्सहितको टोलीले ‘सम्पदाको महत्व स्थानीय सरकारलाई पनि बुझाउनू’ भन्दै पुरातत्व विभागलाई प्रतिवेदन बुझाएका थिए।
प्रतिवेदनपछि विभागले मण्डनदेउपुर नगरपालिकालाई पत्राचार गरी धार्मिक तथा पुरातात्विक महत्वका सम्पदाको संरक्षणका लागि जीर्णोद्धार कार्य सञ्चालनपूर्व जानकारी गराएर मात्रै पुनर्निर्माण गर्न र पुरातात्विक सम्पदा संरक्षण गर्न निर्देशन दिएको छ।
प्राचीन संरक्षण ऐन, २०१३, सम्पदासम्बन्धी वर्तमान ऐन तथा कानुनबारे स्थानीय सरकारलाई पनि जानकारी गराउन आवश्यक रहेको अध्ययन टोलीको प्रतिवेदनमा उल्लेख छ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– ७ मा नगरको प्रशासनिक भवन निर्माणका क्रममा नपाले मनमती देवीको मन्दिर भत्काएको थियो। मन्दिर भत्काउने क्रममा मनमती देवीको ऐतिहासिक पुरानो मूर्ति फेला परेको थियो। त्यसपछि उक्त मन्दिर क्षेत्रमा विभागको टोलीले १३ असारमा अनुगमन गरेको थियो।
अनुगमनपछि स्थानीय सरकारलाई मूर्तिसहित मन्दिर यथास्थानमै राख्न र निर्माण गर्न निर्देशन दिएको छ। अध्ययन टोलीले स्थानीय तहमा रहेका सम्पदा भत्काउनुपूर्व विभागमा जानकारी गराउनुपर्ने उल्लेख गरेको छ । कुनै मठ–मन्दिर वा सम्पदा मास्नुपूर्व सहमति लिन विभागले स्थानीय तहलाई अनुरोध पनि गरेको छ।
