एक वर्षको अवधिमा केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठकमा कसरी प्रस्तुत हुने तयारीमा हुनुहुन्छ ?
गत असारपछि बैठक बसेको थिएन । यसबीच संघ र प्रदेशको निर्वाचन भयो । यसको समीक्षा हुन सकेको छैन । ‘प्रि–इलेक्सन एलाइन्स’का विषयमा पार्टीमा सन्तुष्टि, असन्तुष्टि दुवै छन् । यसमा घनीभूत छलफल आवश्यक छ । यसबीच हामी सरकारबाट बाहिरियौँ र फेरि सरकारमा गएका छौँ ।
अरू उतारचढाव पनि यसबीच आएका छन् । मूल नेतृत्वमाथि पनि धेरै प्रश्न छन् । पार्टी विधानअनुसार चल्न सकेको छैन । एक वर्षसम्म विधान पालना गरेर दुई महिनामा बोलाउनुपर्ने बैठक किन बोलाउनुभएन ? सभापतिले चाहँदा सबै हुने र उहाँले नचाहँदा पार्टीका गतिविधि रोकिने, किन ? सबै विषय बैठकमा आउनेछन् । जिल्ला सभापतिहरूको भेलामा पनि कतिपय विषय उठेका छन् । केन्द्रीय समितिमा सबै विषय समेटिनेछन् ।
लामो समयपछिको बैठकलाई इतर समूहले कसरी लिएको छ ?
पार्टीको प्लेटफर्ममा आउनुपर्ने विषय धेरै छन् । पार्टी बैठकमा प्रस्तुत हुन नपाउँदा अन्यत्रैबाट यस्ता विषय ‘भेन्टिलेट’ भइरहेको अवस्था थियो । लामो समयसम्म गुम्सिएर बसेका पार्टीका धेरै विषय बैठकमा आउनेछन् । धेरै समयपछिको बैठक भएकाले यसले उत्साह पनि थपेको छ । साथै, आरोप–प्रत्यारोपमा पुग्ने अवस्था पनि आउन सक्छ ।
इतर समूहले के–कस्ता तयारी गरिरहेको छ ?
बैठकको एजेन्डा तय भइसकेको छैन । हाम्रो समूहमा पनि बैठक बसेर छलफल गरेका छैनौँ । डा. शेखर कोइरालाले यसबारे समूहमा छलफल गर्नुहोला । हाम्रो बीचमा छलफलबाट केकसरी प्रस्तुत हुने भन्ने तय हुन्छ ।