नेपालको हस्पिटालिटी क्षेत्र ५३ हजारभन्दा बढी पर्यटकलाई एकसाथ सेवा दिन सक्षम भएको छ । देशभर रहेका १४ सयभन्दा बढी तारे र पर्यटकस्तरीय होटेलमा रहेका बेडको संख्या ५३ हजार तीन सय ६५ पुगेको पर्यटन मन्त्रालयद्वारा प्रकाशित ‘पर्यटन तथ्यांक–२०२२’ मा उल्लेख छ ।
यसले नेपालमा एकैपटक सो संख्यामा पर्यटकलाई सेवा दिन सक्ने देखिएको हो । ०७९ सम्म देशमा तारे होटेल तथा रिसोर्टको संख्या एक सय ७३ पुगेको छ । तारे होटेलमा १६ हजार तीन सय ३५ बेड रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा मात्र नभई देशैभर तारे होटेल खोल्ने होडबाजी नै चलेको छ । मोफसलमा मात्रै एक दर्जन पाँचतारे होटेल सञ्चालनमा आइसकेका छन् । त्यस्तै, पर्यटकस्तरीय होटेल तथा रिसोर्टहरूको संख्या १२ सय २८ पुगेको छ । यी होटेलहरूले एकसाथ ३७ हजार ३० पाहुनाको आतिथ्य सत्कार गर्न सक्छन् । दुई दशकअघि ०६१ सालमा तारे र पर्यटकस्तरीय होटेल–रिसोर्टको कुल संख्या नौ सय ९६ र बेड ३९ हजार एक सय सात थियो ।
३१–४५ वर्षका पर्यटक धेरै
सन् २०२२ मा नेपालमा जहाज र सडक यात्रा गरी ६ लाख १४ हजार आठ सय ६९ पर्यटक नेपाल भित्रिएका थिए । जसमध्ये सबैभन्दा धेरै ३१ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । यो उमेर समूहबाट दुई लाख आठ हजार पर्यटक (३३.८८ प्रतिशत) पर्यटक नेपाल घुम्न आएको पर्यटन मन्त्रालयको रिपोर्टमा उल्लेख छ ।
४६ देखि ६० वर्ष उमेरका एक लाख ५६ हजार (२५.३७ प्रतिशत) पर्यटक आएका छन् । यस्तै, १६ देखि ३० वर्षभित्रका एक लाख २१ हजार (१९.६९ प्रतिशत), ६० वर्षभन्दा माथिका ७८ हजार ६ सय ६० (१२.७९ प्रतिशत) र १५ वर्षसम्मका ४८ हजार ६ सय ६४ पर्यटक रहेका छन् ।
सन् २०२२ मा नेपाल भित्रिएका कुल पर्यटकमध्ये तीन लाख ९८ हजार (६४.७ प्रतिशत) पर्यटक बिदा मनाउन आएका हुन् । ७९ हजार पर्यटक (१३ प्रतिशत) धार्मिक र ७६ हजार पर्यटक (१२.४ प्रतिशत) अन्य रहेका छन् । अंग्रेजी आर्थिक वर्ष २०२२/२३ को पहिलो सात महिनामा विदेशी पर्यटकबाट २४ करोड ७८ लाख अमेरिकी डलर (३२ अर्ब २३ करोड रुपैयाँ) विदेशी मुद्रा आर्जन भएको छ ।
सन् २०२१/२२ मा पूरै वर्षभरि पर्यटकबाट ३२ अर्ब ४४ करोड रुपैयाँ आर्जन भएको थियो । कोभिड महामारपछि पर्यटकको संख्या बढ्दै गएसँगै पर्यटकबाट हुने आम्दानी पनि बढ्दै गएको देखिन्छ । विदेशी पर्यटकबाट सन् २०१८/१९ मा सबैभन्दा धेरै ७५ अर्ब ३७ करोड रुपैयाँ आम्दानी भएको थियो । सन् २०१९/२० मा कोभिडका कारण पर्यटक घटेपछि ६० करोड ८८ लाख आम्दानी भएको देखिन्छ । सन् २०१९ पछि प्रत्येक वर्ष पर्यटकको संख्यासँगै आम्दानी पनि बढ्दै गइरहेको छ ।
सन् २०२२ मा तीन सय १२ टिमबाट दुई हजार चार सय ५१ आरोहीले विभिन्न हिमाल आरोहण गरेका छन्, जसमध्ये एक हजार नौ सय चार पुरुष र पाँच सय ४७ महिला रहेका छन् । सर्वोच्च शिखर सगरमाथा मात्रै ४५ टिमबाट दुई सय ५५ पुरुष र ७५ महिला गरी तीन सय ३० जनाले आरोहण गरेका छन् । विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीबाट ५८ करोड ४२ लाख ८० हजार रोयल्टी उठेको पर्यटन विभागले जनाएको छ ।
धेरै यात्रु बोक्नेमा कतार पहिलो, नेवानि दोस्रो
सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ३४ लाख ८८ हजार यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । जसमध्ये १५ लाख ५७ हजार यात्रु विभिन्न देशबाट नेपाल भित्रिएका छन् भने १९ लाख ३१ हजार यात्रु त्रिभुवन विमानस्थल भएर बाहिर गएका छन् । यी यात्रुहरूलाई सेवा दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा २४ हजार तीन सय १२ अन्तर्राष्ट्रिय उडान–अवतरण भएका छन् ।
कतार एयरवेजले सबैभन्दा धेरै ६ लाख २० हजार यात्रु बोकेको छ । नेपाल वायुसेवा निगम (नेवानि)ले पाँच लाख ७७ हजार यात्रु बोकी दोस्रो बनेको छ । यस्तै, हिमालय एयरलाइन्सले तीन लाख ८५ हजार, फ्लाई दुबईले तीन लाख ५४ हजार, इन्डिगोले दुई लाख १६ हजार, कुवेतको जजिराले एक लाख २६ हजार, एयर अरेबियाले एक लाख ७२ हजार, एयर इन्डियाले एक लाख ५१ हजार, सिंगापुर एयरलाइन्सले एक लाख ४१ हजार, भिस्ताराले एक लाख यात्रुलाई सेवा दिएको छ ।