नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुविन श्रेष्ठ चुनिएका छन् । काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् ।
साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुविनलाई संस्थाको नेतृत्व हस्तान्तरण गरेका थिए । साधारणसभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
जसअनुसार च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रञ्जित चयन भएका छन् । उनीहरूको चयनबाट संस्थाको नेतृत्व समूह अझ बलियो भएको मञ्चले जनाएको छ । नयाँ नेतृत्वले संस्थालाई नयाँ अवधारणामा अघि बढाउने विश्वास व्यक्त गरिएको छ ।
साधारणसभाले व्यावसायिक प्रगति, सञ्जालीकरणको अवसर तथा सामुदायिक सहभागिताको प्रतिबद्धता व्यक्त गरेकाले संस्थाको सशक्तीकरणमा ठूलो योगदान पुग्ने जनाएको छ ।