स्कुलको गेटले थिच्दा एक बालकको ज्यान गयो, अर्का एक गम्भीर घाइते

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

सर्लाहीको हरिवन नगरपालिकामा विद्यालयको गेटले किचेर एक बालकको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। सोमबार बिहान हरिवन– ९ स्थित नयाँरोडमा रहेको ज्ञानज्योति आवासीय इंग्लिस बोर्डिङ स्कुलको गेटले किचेर सोही स्कुलमा अध्ययनरत बालकको ज्यान गएको हो। 

घटनामा बागमती नगरपालिका– ४ जिरायत निवासी आकाश बलका ५ वर्षीय छोरा आयुष बलको मृत्यु भएको प्रहरीले जनाएको छ। फलामे गेटले किचेका अर्का बालक ७ वर्षका आदित्य लोपनी गम्भीर घाइते छन्। उनको वीरगन्जमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए।

बिहान स्कुल बसमा विद्यालय पुगेका उनीहरू गेटबाट भित्र जाने क्रममा फलामे गेट लडेको थियो। सोही क्रममा दुवैजना थिचिएकाे इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।

लगत्तै, उनीहरूलाई उपचारका लागि नमुना अस्पताल हरिवन पुर्याइएको थियो। आयुषको उपचारका क्रममा मृत्यु भएको हो। मृतक बालक सोही विद्यालयमा युकेजीमा अध्ययनरत थिए। अर्का बालक आदित्य कक्षा २ का विद्यार्थी हुन्।

घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
 

सुझावित समाचार