कोसीमा नयाँ सरकार गठनको रस्साकस्सी

प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान, दलहरू गृहकार्यमा

सोमबार, १८ असार, २०८०
डिजिटल संस्करण

एमाले नेतृत्वको सरकार ढलेको तीन दिनपछि प्रदेश प्रमुखले संविधानको धारा १५८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि २१ असार अपराह्न ५ बजेसम्मको समयसीमा तोकेर गरे आह्वान 
कोसीमा नयाँ सरकारका लागि बहुमत पुर्याउन दुवै गठबन्धनबीच रस्साकस्सी चलिरहेका वेला प्रदेश प्रमुख परशुराम खापुङले दलहरूको अनुकूल हुने गरी पाँच दिनको समयसीमा तोकिदिएका छन् । कोसीमा एमाले नेतृत्वको सरकार १५ असारमा ढलेपछि एमाले–राप्रपा र कांग्रेस–माओवादी–एकीकृत समाजवादी–जसपा गठबन्धन बहुमत जुटाउन लागिरहेका छन् । तर, नयाँ सरकार बनाउन ४७ सांसद आवश्यक पर्ने भए पनि दुवै गठबन्धनमा ४६–४६ सांसद मात्र छन् ।

यसरी दुवै गठबन्धनले ६ सिटको राप्रपातिर आँखा लगाइरहेका वेला प्रदेश प्रमुख खापुङले पाँच दिन (२१ असार साँझ ५ बजेसम्म)को समयसीमा दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । यसअघि कोसीमा संसदीय अंकगणित नै बराबरको अवस्थामा रहेकाले अप्ठेरोमा परेका प्रदेश प्रमुखले खापुङले तीन दिनसम्म नयाँ सरकारका लागि आह्वान गरेका थिएनन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार संविधानको धारा १५८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरिएको छ । उनले बहुमत सांसदको हस्ताक्षर लिएर आउने दलका संसदीय नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् । माओवादी र जसपा सरकारबाट बाहिरिनुका साथै समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ असारमा प्रदेश सभाबाट विश्वासको मत गुमाएका थिए । 

कांग्रेसका सांसद भीम पराजुलीले अब तोकिएकै समयभित्र नयाँ सरकार गठन हुने बताए । ‘हामीसँग स्पष्ट बहुमत छ, २१ असारसम्म हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पेस गर्नेछौँ,’ उनले भने । तर, गठबन्धनबाट को मुख्यमन्त्री भनेर अझै टुंगो छैन । 
कांग्रेसले संसदीय दलका नेता उद्धव थापालाई अघि सारेको छ भने माओवादीबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्रीका लागि दौडधुपमा छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र लावती गठबन्धनको ठूलो दल भएकाले कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउँछन् । ‘सरकारको नेतृत्वका लागि हामीले दलबाट निर्णय नै गरिसकेका छौँ, अब पछि हट्ने कुरै हुँदैन,’ उनले भने । माओवादी सांसद गणेश उप्रेतीले मुख्यमन्त्री माओवादीले नै पाउनुपर्ने बताए । ‘यहाँ ठूलो र साना दलको कुरै भएन । संघीयतालाई कसरी बलियो बनाउने र पहिचानवादीको माग कसरी सम्बोधन गर्ने भन्ने हो,’ उनले भने ।

बहुमत पुग्न नदिने र सभामुखलाई राजीनामा गराउने दाउमा एमाले
कांग्रेस–माओवादी गठबन्धन सके राप्रपालाई समेटेर जाने, नत्र सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर बहुमत पु¥याउने दाउमा छ । तर, एमाले भने बहुमत पुग्न नदिने र कांग्रेस–माओवादी गठबन्धनको मात्र सरकार बन्ने भएमा सभामुख बाबुराम गौतमको राजीनामा पहिलो सर्त अघि सार्ने योजनामा छ । नयाँ सरकार गठनका लागि दाबी गर्दा सभामुखको हस्ताक्षर प्रयोग गर्न नमिल्ने एमाले बताइरहेको छ । विश्वासको मत नपाएपछि मुख्यमन्त्रीसहित एमाले सांसद प्रदेश प्रमुखको कार्यालय पुगरेर यसबारे चेतावनी दिइसकेका छन् ।

 मुख्यमन्त्रीको बार्गेनिङमा राप्रपा
कोसीमा सभामुखसहित ९३ सिट छ । एमालेका ४० र राप्रपा ६ सांसद छन् । अर्काे गठबन्धनमा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन् । बहुमतका लागि ४७ सांसद चाहिन्छ । नयाँ गठबन्धन सभामुखलाई राजीनामा नगराई नयाँ सरकार बनाउने र त्यसपछि राप्रपालाई सरकारमा ल्याउने योजनामा छ ।

एमालेले सांसद प्रमाणीकरणबारे सदनमा विरोध गरेमा राप्रपाको समेत साथ लिएर विश्वासको मत लिने योजना कांग्रेस–माओवादी गठबन्धनको छ । राप्रपाले भने कोसीमा मुख्यमन्त्री पाए मात्र कांग्रेस–माओवादी गठबन्धनमा आउने बताइरहेको छ । यद्यपि, राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले नयाँ सरकारबारे राप्रपा लचिलो भए पनि निर्णय नभएको र केन्द्रीय नेतृत्वको निर्देशनअनुसार अघि बढ्ने बताए । 

सुझावित समाचार