आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौँ स्थानका लागि भएको सेमिफाइनल खेलमा नेपाल विजयी भएको छ । जिम्बाबेको हरारे क्रिकेट मैदानमा नेपालले युएईलाई ३ विकेटले हराएको हो ।
खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले युएईलाई ४६ ओभर ५ बलमा १ सय ८१ रनमा अलआउट गरेको थियो । नेपालबाट करण केसी र सन्दीप लामिछानेले ३–३ विकेट लिएका थिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ रन खर्चिए भने करणले ८.५ ओभरमा ३६ रन खर्चिए । प्रतिश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको नेपाल एक समय निकै दबाबमा थियो । केवल १०६ रन बनाउँदा ७ विकेट गुमाएको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले उत्कृष्ट ब्याटिङ गर्दै ४४औँ ओभरमा विजयी बनाए । उनीहरूले आठौँ विकेटका लागि नट आउट ७९ रनको साझेदारी गरेका थिए । दीपेन्द्र ७९ र सन्दीप २३ रनमा नट आउट रहे । ८५ बल खेलेका दीपेन्द्रले ७ चौका र २ छक्का हाने । नेपालबाट कुशल भुर्तेलले ३५, ज्ञानेन्द्र मल्लले १३ तथा गुल्सन झाले १२ रन जोडेका थिए ।
आयरल्यान्डसँग खेल्ने
नेपालले अब सातौँ स्थानका लागि आयरल्यान्डसँग खेल्नेछ । १० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि नेपालको विश्वकप सपना समाप्त भएको थियो ।