राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधिले विकासका योजनामा बजेट माग्दै मन्त्रालयका ढोका चहार्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका छन्।
राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति र गण्डकी प्रदेश नीती तथा योजना आयोगको आयोजनामा पोखरामा भएको कार्यक्रममा उनले जनप्रतिनिधिलाई कानुन निर्माणमा नै केन्द्रित रहन आग्रह गरे।
अध्यक्ष तिमिल्सिनाले प्राथमिकता र आवश्यकताका आधारमा योजना छनोट गर्ने हो भने यस्तो समस्या हल भएर जाने उल्लेख गरे। सरकारको नेतृत्व गर्ने र बजेट बनाउनेहरूको जिल्लामा मात्रै बजेट जाने प्रवृत्ति झनै बढेकोमा उनले चिन्ता व्यक्त गरे।
उनले दिगो विकासका लक्ष्य पहिल्याउन तीनवटै तहका सरकार सक्रियताका साथ लाग्नुपर्ने बताए। टुक्रे योजनालाई प्रदेश र संघ सरकारले प्राथमिकता दिन नहुने र आवश्यक पर्ने त्यस्ता योजना स्थानीय तहलाई दिनुपर्नेमा तिमिल्सिनाको जोड थियो।