लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले आगामी आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको अनुमानबारे छलफलका लागि प्रदेश सभामा प्रस्ताव पेस गरेका छन्।
आइतबार बसेको संसद बैठकमा अर्थमन्त्री मास्कीले प्रदेश सभा नियमावली २०७९ को नियम १३२ को उपनियम ३ बमोजिम आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानबारे सैद्धान्तिक छलफल गरियोस् भनी प्रदेश सभामा प्रस्ताव पेस गरेका हुन्। एमालेका सांसदहरूको विरोधबीच मन्त्री मास्कीले उक्त प्रस्ताव पेस गरेका हुन्।
आइतबार पनि एमाले सांसदहरूले खारेज गरिएका निर्देशनालयहरू फिर्ताको माग गर्दै नाराबाजी गरेका थिए। संसदमा १५ मिनेट नाराबाजीपछि सभामुख तुलाराम घर्तीले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
१३ असारमा पनि एमाले सांसदहरूले विरोध जनाएपछि संसद् बैठक आइतबारका लागि सारिएको थियो। दिउँसो १ बजे बस्ने भनिएको बैठक सवा ३ बजे मात्रै सुरु भएको थियो।