तीन टोलका किसानले ४८ लाखको दूध बिक्री गरे

आइतबार, १७ असार, २०८०
डिजिटल संस्करण

दैलेखको नारायण नगरपालिकाका तीन वडाका तीनवटा टोलले एक वर्षमा ४८ लाखको दूध बिक्री गरेका छन् । नारायण नगरपालिका वडा नं ३ कालीमाटी, वडा नं. ११ विन्ध्यवासिनी र वडा नं ६ बिजौराका किसानले एक वर्षमा ८० हजार लिटर दूध स्थानीय डेरी उद्योगलाई बिक्री गरेका छन् । प्रतिलिटर ६० रुपैयाँका दरले किसानले चालू आवको जेठसम्म मात्रै ४८ लाख रकम आम्दानी गरेका छन् । 

किसानले उत्पादन गरेको दूध ल्याक्टो मिटरका आधारमा चेक गरेर राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाले घरबाटै खरिद गर्छ । स्थानीय सहकारीले घरबाटै दूध लिएपछि बजारमा बिक्री गर्न जाने समयको बचत हुने दूध उत्पादक किसान मनीषा कठायतले बताइन् । उनले भनिन्, ‘सदरमुकाममा दूध बिक्री गर्न जाँदाभन्दा तीन घन्टाको समय बचत भएको, सो समयमा भैँसीलाई थप एक डोको घाँस काट्न पाइएको छ ।’  

दूध उत्पादनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत, प्रदेश सरकार, नारायण नगरपालिका र पशु सेवा कार्यालय दैलेखले विगत तीन वर्षदेखि भैँसी वितरण कार्यक्रम सञ्चालन गरेको छ । केही स्थानमा वितरण गरेका भैँसीहरूबाट प्रतिफल प्राप्त हुन नसकेको भए पनि सक्रिय किसानले दूध बिक्री गरेर राम्रो आम्दानी गरिरहेको पशु सेवा कार्यालय दैलेखका प्रमुख भीमबहादुर विष्टले बताए । 

नगर प्रमुख लोमन शर्माले नारायण नगरपालिका, प्रदेश सरकार पशु सेवा कार्यालयको साझेदारीमा तीन वर्षदेखि अनुदानमा भैँसी वितरण कार्य सुरु भएसँगै किसानहरूले दूध बिक्री गरेर लाखौँ आम्दानी लिन सफल भएको बताए । डेरीमा मात्र बिक्री गर्ने किसानले ४८ लाख पाए, किसान आफैँले बजारमा बिक्री गरेको रेसियोको आधारलाई मापन गरिएको छैन । वार्षिक करिब ५० लाखबराबरको रकम किसानले दैनिक आफैँ बजार पुगेर दूध बिक्री गर्ने उनको भनाइ छ । नारायण नगरपालिकाबाट मात्र वार्षिक करिब एक करोडकोे दूध किसानले बिक्री गर्ने उनले बताए । नगरपालिकाले यो वर्ष किसानलाई १४ वटा भैँसी अनुदानमा वितरण गरेको छ । किसानले २५ प्रतिशत रकम जम्मा गरेर भैँसी खरिद गर्न सक्ने पशु शाखा दैलेखका चित्र प्याकुरेलले जानकारी दिए । 

उत्पादनका आधारमा थप अनुदान
कर्णाली प्रदेश सरकारमार्फत पशु सेवा कार्यालय दैलेखले डेरीमार्फत दूध बिक्री गरेका किसानले वर्षभरि बिक्री गरेको दूधलाई आधार मानेर प्रतिलिटर पाँच रुपैयाँ थप अनुदान प्रदान गरेको छ । दैलेखका तीनवटा टोलबाट मात्रै बिक्री गरेको ८० हजार लिटर दूधको प्रतिलिटर पाँच रुपैयाँका दरले चार लाख थप अनुदान वितरण गरेको छ । किसानका घरमै पुगेर अनुदानको रकम वितरण गरिएको राष्ट्रसेवक सहकारी संस्था दैलेखका अध्यक्ष लालबहादुर खड्काले बताए ।  

किसानलाई थप उत्साह प्रदान गर्न दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल किसानका घरमै पुगेका छन् । सरकारले प्रदान गरेको अनुदान रकम वितरण गर्न प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल  वडा नं ३ कालीमाटीका किसानका घरमा पुगेका हुन् । अब हरेक क्षेत्रमा उत्पादनका आधारमा किसानलाई अनुदान दिनुपर्ने कामलाई सरकारले अझै प्रभावकारी बनाउने उनको भनाइ छ । उन्नत कृषि नेपालका लागि आवश्यक रहेकाले सबैले सानो–सानो परिमाणमा धेरैखाले कृषिमा लाग्नुभन्दा एउटा किसानले एउटा मात्र क्षेत्रमा ठूलो परिमाणमा दूध उत्पादन, बाख्रापालन, फलफूल खेतीजस्ता कामहरू गर्नुपर्ने उनले सुझाव दिए । 

See More On

सुझावित समाचार