समूहका नाइके प्रिगोजिन पाखा लागे भने पनि वाग्नरले अफ्रिका छाड्ने सम्भावना देखिन्न
असफल सशस्त्र विद्रोहअघिसम्म वाग्नर समूहको अर्को तैनाथी बेलारुसभन्दा पनि बुर्किना फासोमा हुने देखिन्थ्यो । तर, सशस्त्र विद्रोहको सुरक्षित अवतरणका लागि वाग्नर नेता येवगेनी प्रिगोजिन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको सम्झौताअनुरूप प्रिगोजिन बेलारुस पुगेका छन् । त्यहाँबाट वाग्नरको अफ्रिकी परिचालन सञ्चालन गर्ने प्रिगोजिनको अपेक्षा छ, जुन वाग्नर साम्राज्यका लागि मात्र नभई अफ्रिकी महाद्वीपमा क्रेमलिनका लागि समेत महत्वपूर्ण बनेको छ ।
‘वाग्नरले अफ्रिकी र अरब देशमा ‘रुसी संघको हितमा धेरै काम’ गरेको छ,’ प्रिगोजिनको २६ जुनको एक टेलिग्राम सन्देशमा गुनासो थियो । भाडामा सैनिक उपलब्ध गराउने यो समूहले माली र मध्य अफ्रिकी गणतन्त्र (सिएआर)सहित पाँच अफ्रिकी राज्यमा लडाकु पठाएको छ । यी देशमा वाग्नरको सञ्चालन जारी रहने रुसी विदेशमन्त्री सर्गेई लाभरोभको भनाइ छ । यीबाहेक, अफ्रिका महाद्वीपका कम्तीमा अन्य सात देशमा वाग्नरको कुनै नै कुनै प्रकारको उपस्थिति छ (सिरिया सहित) । समूहका नाइके प्रिगोजिन पाखा लागे नै भने पनि वाग्नरले अफ्रिका छाड्ने सम्भावना देखिन्न । यो संगठन त्यहाँ रहनुका पछाडि निहित स्वार्थ छ । यसबाहेक, क्रेमलिन पनि अफ्रिकी महाद्वीपमा प्रभावको स्रोत गुमाउन अनिच्छुक हुनेछ । अफ्रिकी स्वयंले रुसलाई कमजोर र अविश्वसनीय साझेदारका रूपमा हेर्न थाले भने मात्रै वाग्नर अफ्रिकाबाट बाहिरिने सम्भावना छ ।
वाग्नरको अफ्रिकी सम्राज्य के हुन्छ भनेर बुझ्न यो त्यहाँ कसरी सञ्चालित छ भनेर बुझ्नु सहयोगी हुन्छ । त्यहाँ वाग्नर कम्पनी होइन कि रुससँग आबद्ध फर्महरूको एउटा सञ्जाल परिचालित छ, जुन विदेशी सरकारसँगको सम्झौताअन्तर्गत सञ्चालित छ । अफ्रिकामा वाग्नरले एउटा व्यापार मोडेल प्रयोग गर्छ, जसमा तीन तत्व छन् । प्रत्येकको समिश्रण परिचालन रहेको देशमा निर्भर गर्छ । वाग्नर समूह सन् २०१८ मा प्रवेश गरेको पूर्वफ्रान्सेली उपनिवेश एवं मध्य–अफ्रिकी गणतन्त्र (सिएआर)मा यी तीनै तत्व– सैन्य, आर्थिक र राजनीतिक संलग्नता स्पष्ट रूपमा देखिन्छ । यसको थप प्रमाण २७ जुनमा प्रकाशित अमेरिकी खोजपत्रकारिता ‘द सेन्ट्री’को एउटा नयाँ रिपोर्टमा उपलब्ध छ ।
सैन्य परिचालन वाग्नरको पहिलो स्तम्भ हो, जसअन्तर्गत सुरक्षाको खोजीमा रहेका अफ्रिकी सरकार रुस हुँदै वाग्नरतर्फ मोडिएका हुन् । अफ्रिकामा वाग्नरका लडाकु कति छन् भन्ने कुनै आधिकारिक जानकारी छैन, तर विश्लेषकहरू यो संख्या लगभग पाँच हजार भएको बताउँछन्, जसमध्ये धेरैजसो माली र मध्य गणतन्त्र अफ्रिकामा परिचालित छन् (सिरियामा कति संख्यामा छन् भन्ने अझै अज्ञात छ) । अफ्रिकामा वाग्नरको कुल संख्या तुलनात्मक रूपले सानो हुन सक्छ, तर भगौडा वाग्नरसँगका कुराकानीबाट अफ्रिकामा रहेका उसका लडाकु दक्ष र युद्ध कौशलमा निपुण रहेको थाहा लाग्छ ।
उनीहरूले अफ्रिकी सेनाको क्षमतामा अभिवृद्धि पनि गराएका छन् । मध्य अफ्रिकी गणतन्त्रमा वाग्नरले झन्डै पाँच हजार लडाकुको ‘समानान्तर सेना’ गठन गरेको छ । सेन्ट्रीका अनुसार तीमध्ये अधिकांश राष्ट्रसंघको अनुगमन बर्खिलाप गर्दै राष्ट्रपति फाउस्टिन–आर्चेन्ज टउडेराको जातीय समूहबाट भर्ती गरिएका हुन् । वाग्नरले यी लडाकुलाई यातना दिने तालिम दिएको र राष्ट्रसंघको हतियार प्रतिबन्धलाई उल्लंघन गर्दै हातहतियार, ड्रोन र विमानहरू भित्र्याएको सेन्ट्रीको आरोप छ । ‘वाग्नरले यस समानान्तर सेनालाई ‘आतंक अभियान’कै एक हिस्साका रूपमा प्रयोग गरेको थियो,’ सेन्ट्रीले भनेको छ । उसले वाग्नरलाई त्यहाँका गाउँमा नरसंहार, यातना र बलात्कार मच्चाएको पनि आरोप लगाएको छ । ‘हामी गाउँलेहरूको हत्या गरेर तिनलाई गाड्छौँ वा यत्तिकै झाडीमा फालिदिन्छौँ,’ सन्ट्रीले वाग्नरमातहतमध्ये अफ्रिकी गणतन्त्रमा परिचालित एक सिपाहीलाई उद्धृत गरेको छ । (टिप्पणीका लागि गरेको अनुरोधमा टउडेराका प्रवक्ता र वाग्नर समूहले जवाफ दिएनन्)।
अफ्रिकामा वाग्नरका लडाकु कति छन् भन्ने कुनै आधिकारिक जानकारी छैन, तर विश्लेषकहरू यो संख्या लगभग पाँच हजार भएको बताउँछन्, जसमध्ये धेरैजसो माली र मध्य गणतन्त्र अफ्रिकामा परिचालित छन्
द इकोनोमिस्टले सेन्ट्रीको दाबीलाई स्वतन्त्र पुष्टि गर्न नसके पनि त्यो दाबी मानवअधिकार वाचलगायत अन्य अनुसन्धानको निस्कर्षसँग मेल खान्छ । राष्ट्रसंघको आकलनअनुसार मध्यअफ्रिकी गणतन्त्रका पाँचमध्ये एक व्यक्ति आफ्नो थातथलोबाट विस्थापित छन् । ‘कन्फ्लिट एन्ड हेन्थ’ नामक जर्नलमा गत अप्रिलमा प्रकाशित एक आश्चर्यजनक अध्ययनले गत वर्ष मध्य अफ्रिकामा जनसंख्याको ५ दशमलव ६ प्रतिशतको मृत्यु भएको बताउँछ, जुन राष्ट्रसंघले सन् २०१० मा गरेको आकलनभन्दा चारगुणा र अन्य कुनै पनि देशको भन्दा दोब्बर बढी हो । ‘वाग्नरको उपस्थितिले नागरिकलाई बाँच्न थप कठिन बनाएको छ,’ अनुसन्धाताले कूटनीतिक लवजमा भनेका छन् ।
वाग्नरको दोस्रो मोडल हो, आर्थिक अर्थात् सुरक्षा प्रदान गरेबापत थप आर्थिक लाभ खोज्नु । वाग्नरलाई पदसोपानमा आधारित व्यवसायको रूपमा लिइनुहुँदैन, बरु यो सहायक कम्पनीहरूको सञ्जालका रूपमा रहेको एउटा खुकुलो कंग्लोमरेट (व्यावसायिक समूह) हो । यसको आम्दानी अथवा मुनाफाबारे खासै जानकारी बाहिरिएका छैनन् तर यो उसको पैसा कमाउने महत्वपूर्ण क्षेत्र अफ्रिका नै भएको भने देखिन्छ । २७ जुनमा अमेरिकाले वाग्नरसँग सम्बन्ध देखिएका कम्पनीलाई प्रतिबन्ध लगायो, जसमा मध्य अफ्रिकी गणतन्त्रस्थित डासिमा खानी (जसमा एक अर्ब डलरभन्दा बढीको सुन भण्डार रहेको ठानिन्छ) नियन्त्रणमा राखेको एउटा कम्पनी पनि समावेश छ । वाग्नरले यहाँका सुन तथा हिरा खानी क्षेत्रआसपासका गाउँलेको हत्या र लुटपाट गरेको सेन्ट्रीको दाबी छ । सुन तस्करीको केन्द्र सुडानमा वाग्नर–आबद्ध विमानले १५ उडान भरेको पनि सेन्ट्रीले गनेको दाबी छ ।
मध्य अफ्रिकी गणतन्त्र वाग्नरले प्रदान गर्ने राजनीतिक सेवाको पनि एउटा केस स्टडी हो, जुन वाग्नर मोडलको तेस्रो तत्व हो । वाग्नर समूहले सन् २०२० मा सम्पन्न निर्वाचनमा टउडेराको समर्थनमा अभियान चलायो र विभिन्न गुटका नेतासँग राजनीतिक सम्झौताका लागि मद्दत गर्यो । चुनाव टउडेराले जिते । अफ्रिकाका अन्य देशमा पनि वाग्नरका कम्पनीले प्रपोगान्डा र भ्रमपूर्ण सूचनाका अभियान चलाउने गर्छन्, तिनले फर्जी निर्वाचन–पर्यवेक्षण समूह पनि संगठित गरेका छन् ।
वाग्नर मोडलको जानकारीले यसपछि के हुन सक्छ भनेर बुझ्न सहयोग गर्छ । केही मानिस प्रिगोजिन र पुटिनबीचको सम्झौताअनुरूप प्रिगोजिनले अफ्रिकामा आफ्नो भूमिका कायम राख्न सक्षम हुने अनुमान गर्छन् । २७ जुनमा रुसी राष्ट्रपतिले युक्रेनको वाग्नर सञ्चालनलाई राज्यले प्रत्यक्ष आर्थिक सहयोग गरेको स्वीकार गरेका थिए । उनले कसले कसलाई नियन्त्रण गर्छ भन्ने देखाउन बढी नै जोड दिए ।
यसको संरचनालाई हेर्दा अफ्रिकाको वाग्नर समूहमा प्रिगोजिनको खासै नचल्ने बताउँछिन्, कोलम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजकी किम्बर्ली मार्टिन । ‘प्रिगोजिन एकीकृत वाग्नरका न त सिइयो हुन्, न त कमान्डर, जसको आदेश सबैले मानून्,’ उनले भनिन् । प्रिगोजिनलाई यसकारण प्रतिस्थापन गर्न रुसी सैन्य संस्थापनालाई तुलनात्मक रूपले सजिलो हुने उनको तर्क छ ।
‘वाग्नर नेटवर्कमा आबद्ध मानिस र संस्थाका पनि आ–आफ्नै रुचि छन् । त्यसलाई उनीहरू कायम राख्न चाहनेछन् । यीमध्ये केही प्रिगोजिनसँग आबद्ध छन् भने केही आबद्ध छैनन् । समूहको नेतृत्व पनि ‘तलदेखि माथि’ क्रमिक रूपमा विकास नभएकाले शीर्ष तहमा ठूलो परिवर्तन हँुदा पनि अरू सबैलाई बर्खास्त गरिराख्नुपर्दैन,’ वाग्नरबारे पुस्तक लेखिरहेका जोन लेचनर तर्क गर्छन् ।
वाग्नर अफ्रिकामा गत दशकमा भएको क्रेमलिनको पुनरोदयको एक महत्वपूर्ण अंश रहिआएको छ । सन् २०१४ मा क्रिमियाको विलयपछि र गतवर्ष पनि रुसले अफ्रिकी महाद्वीपमा आफ्नो संलग्नता दोब्बर बनायो । आगामी महिना पुटिनले सेन्ट पिटर्सबर्गमा अफ्रिकी नेताको शिखर सम्मेलन आयोजना गर्दै छन् । वाग्नर अफ्रिकाका निम्ति रुसको एक मात्रै उपकरण त होइन, तर ‘न्यून लागत र उच्च प्रभाव युक्त उपकरण’ भने पक्कै हो ।
वाग्नरले रुसलाई प्रदान गर्ने फाइदा धेरै छन् । यो सुनको एउटा स्रोत हो, जसको भण्डारणले रुसलाई पश्चिमी वित्तीय प्रतिबन्धको प्रतिरोध गर्न मद्दत गर्नेछ । यसले आफू सञ्चालित हुने देशमा पश्चिमविरोधी सन्देश वीजारोपण गर्न पनि मद्दत गर्ने गर्छ । (यस वर्षको सुरुमा मध्य अफ्रिकी गणतन्त्रको खानीमा भएको नौजना चिनियाँको हत्यामा फ्रान्सेली सैनिकको हात भएको अफवाह फैलाउने पनि वाग्नर नै रहेको बताइन्छ ।)
वाग्नरले अफ्रिकी राजनीतिज्ञहरूसँग प्रभावका अनौपचारिक च्यानल स्थापना गर्छ, जसलाई आधिकारिक सम्बन्धमा परिणत गर्न सकिन्छ । उदाहरणका लागि रुसका लागि मध्य अफ्रिकी गणतन्त्रका राजदूतले आफ्नो सरकारले मुलुकमा एउटा रुसी सैन्य आधार शिविर स्थापना गर्नेतर्फ सोचविचार गरिरहेको बताए । यद्यपि, रुसको सुरक्षा सेवाले वाग्नरको बाह्य परिचालनमाथि थप नियन्त्रण स्थापित गर्न सक्छ । एउटा विकल्प यो समूहलाई राष्ट्रियकरण गर्ने हुन सक्छ, तर यो न रुस न त अफ्रिकी सरकारलाई नै सुहाउँदिलो हुनेछ । अन्य विकल्पमा समूहलाई रिब्रान्डिङ गर्ने, नयाँ नेतृत्व ल्याउने वा घटक फर्ममा परिवर्तन गर्ने उपाय हुन सक्छन् । विद्रोहपछि क्रेमलिनले वाग्नर परिचालन रहेका देशलाई चाहे त्यो वाग्नरको नाममा होस् वा अन्य कुनै परिचालन निरन्तर रहने कुरामा आश्वस्त पार्न कोसिस गरिरहेको बताइन्छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले माली र मध्य अफ्रिकी गणतन्त्रमा वाग्नरको सञ्चालन कायमै रहने बताइरहँदा सहायक विदेशमन्त्रीले बसर–अल–असदको सत्तालाई फकाउन सिरियाको भ्रमण गरेका छन् ।
सहयोगका लागि रुसको मुख ताकेका अफ्रिकी ग्राहक अफ्रिकामा वाग्नरको भविष्य निर्धारण गर्ने सबैभन्दा ठूलो कारक तत्व हुनेछन् । वाग्नर प्रभावशाली रूपमा घुसेको मध्यअफ्रिकी गणतन्त्रको सरकार अविचलित देखिन्छ । ‘हामीले सन् २०१८ मा रुसी महासंघसँग रक्षा सम्झौता गरेको हो, वाग्नरसँग होइन । वाग्नरलाई त रुसले सब कन्ट्याक्टमा लिएको हो । यदि रुसले वाग्नरलाई राख्न चाहेन भने नयाँ दल पठाउनेछ । प्रिगोजिन र पुटिनबीचको तनाव रुसको आन्तरिक मामिला हो,’ टउडेराका सल्लाहकार फिडेले गाउन्डिजिकाले एएफपीसँग भनेका छन् ।
यसैबीच मालीमा सत्तासीन जुन्ता (सैन्य) सरकारले झन् खतरनाक खेल सुरु गरेको छ । १६ जुनमा उसले संयुक्र राष्ट्रसंघले परिचालन गरेका १३ हजार शान्ति सेनालाई ढिला नगरी फिर्ता गर्न भनिसकेको छ । यो वर्षको अन्त्यसम्ममा सबै शान्ति सैनिक फर्किसक्ने अपेक्षा गरिएको छ । सैन्य समर्थित सरकारले केही वर्षमै हजारौँको ज्यान दिएको जिहादीहरूसँग लड्न वाग्नरको सहयोग खोजिरहेको छ । वाग्नर विद्रोहले उनीहरू केही निराश भएको बताइन्छ ।
वाग्नरको विद्रोहपछि अफ्रिकाका अभिजातहरूले रुसबारे धारणा परिवर्तन गरेका पनि हुन सक्छन् । रुसका पक्षमा बोल्ने अफ्रिकाका केही प्रभावशाली नेता पछिल्ला दिनमा मौन रहेको पोलिस इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्सका जेड्रजेज जेरेपको टिप्पणी छ । ‘कमजोर र अक्षम देखिनेबित्तिकै रुसले आफ्नो आकर्षण गुमाउनेछ,’ उनी तर्क गर्छन् । मालीजस्तै सेनाद्वारा सञ्चालित बुर्किना फासो, जसले वाग्नर सेनाको तैनाथी खोजिरहेको थियो, उसले अब रुचि नदेखाउन सक्छ ।
यसले एउटा विडम्बनालाई संकेत गर्छ, जसलाई पक्कै अफ्रिकाका पर्यवेक्षकहरूले बेवास्ता गर्नेछैनन् । पुटिनले रुसलाई अफ्रिकी नेताका लागि एउटा बलियो सहयोगीका रूपमा मात्र नभई एउटा मोडलकै रूपमा प्रस्तुत गरेका थिए । तर, विडम्बना ! अफ्रिकी नेताहरूलाई तिनका आन्तरिक शत्रुविरुद्ध मद्दत गर्न पुटिनले पठाएको त्यही समूह रुसमा विद्रोही बनेर निस्कियो । विदेशका तानाशाही र सैन्य सरकारलाई ‘कु’को संरक्षण बेच्ने रुसी सत्ताका लागि यो कदापि राम्रो विज्ञापन होइन ।