नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

शनिबार, १६ असार, २०८०
डिजिटल संस्करण

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। 

शनिबार बिहान ११ः३५ बजे पुनः पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। आज बिहान ३ः१५ बजे सोही स्थानमा पहिरो खसेर बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनः पहिरो खसेर अवरुद्ध भएको हो।

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बिहीबार दिउँसो पनि सोही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो। पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले उक्त स्थानमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन्। पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।

सुझावित समाचार