दाइजो नल्याएको भन्दै श्रीमती र छोरीको हत्या

शनिबार, १६ असार, २०८०
डिजिटल संस्करण

दाइजोको निहुँमा रौतहटमा बालिकासहित एक महिलाको हत्या भएको छ। जिल्लाको मौलापुर नगरपालिकामा श्रीमानसहित परिवारका सदस्यहरू मिलेर आमाछोरीको हत्या गरेको मृतक महिलाका माइती पक्षले आरोप लगाएका छन्।

मौलापुर नगरपालिका वडा नम्बर ४ बौधा पतौरा धीरेन्द्र साहको २४ वर्षीय माला भन्ने कविता साह र उनकी दुई वर्षकी छोरी आरोही साहको शुक्रबार राति परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेर हत्या गरेका हुन्।

तीन वर्षअघि सामाजिक रीतिरिवाजअनुसार माधवनारायण नगरपालिका ५ मिठुअवाका विजयशंकर साहले आफ्नो छोरीको बिहे मौलापुर नगरपालिका ४ बौधा पतौरा गाउँका नागेन्द्र साहको छोरा धीरेन्द्र साहसँग गरिदिएका थिए।

बिहेअघि कबोल गरेको दाइजो दिन नसकेका कारण आफ्नी छोरी र नातिनीको हत्या गरेको मृतकका बाबु विजयशंकर साहले बताए। मोटरसाइकल, पलङ, भैँसी, सिक्री माइतीबाट लिएर आइज भन्दै ज्वाइँले छोरीमाथि दबाब दिँदै आएको र आफूले दिन नसकेका कारण नातिनीसहित छोरीलाई कुटीकुटी मारेको साहको भनाइ छ।

ज्वाइँ धीरेन्द्रको परिवारले शुक्रबार राति १२ बजेको समयमा छोरीलाई निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेपछि भर्याङमा झुन्ड्याइएको र दुईवर्षे नानीलाई घरको पंखामा झुन्ड्याएर मारेको उनले बताए।

मृतकका बुवा विजयशंकरका अनुसार बिहान ३ बजेको समयमा छिमेकीले फोन गरेर छोरीलाई ज्वाइँका परिवारले कुटेर हत्या गरेको जानकारी दिएको साहको भनाइ रहेको छ ।

आफूले त्यसपछि प्रहरीलाई खबर गरेर मौलापुर पुगेको साहले बताए। जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगर घटना भएको स्विकार्दै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको तथा मृतकको श्रीमान् र ससुराको खोजी कार्य जारी रहेको बताए।

श्रीमती र छोरीको हत्या पछि धीरेन्द्र साह र उनको परिवारका सदस्य फरार रहेकोले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख बुढामगरले जानकारी दिए।

सुझावित समाचार