बजेटबारे अर्थमन्त्री भन्छन्- कसौँडीमा पाक्नेजति चामलले सबैको चाहना पूरा गर्न सकिँदैन

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटको स्राेत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताएका छन्। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अन्योलबीच पनि आफूले जायज कुराहरूलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको बताए। उनले अर्थतन्त्रलाई चलायमान गर्न सक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको उल्लेख गरे। 

कसैको मुख नहेरी र कसैलाई फाइदा र बेफाइदा पुग्ने गरी बजेट विनियोजन नगरेको भन्दै उनले निष्पक्ष रूपमा बजेट जनताका माग पूरा गर्नका लागि ल्याएको दाबी गरे। 

कसौँडीमा पाक्न सक्ने चामलले जन्तीबराबरलाई खुवाउनुपरेको खण्डमा केही असन्तुष्टि व्यक्त भएको बताउँदै उनले भने, ‘मैले कसैलाई फाइदा पुग्ने नपुग्ने गरी होइन, आमनागरिकको आकांक्षाअनुसार ल्याएको छु। सुशासन, पारदर्शितालाई मध्यनजरमा राखी लोभ मोह नराखी अघि बढाएको छ। एउटा कसौँडीमा पाक्न सक्ने चामल छ, अब जन्तीबराबरलाई खुवाउनुपरेको खण्डमा के हुन्छ ? अब हाम्रो आम्दानी भनेको कसौँडीमा पकाउने चामल छ, सबैको चाहना पूरा गर्न ठूलो खड्काैलाेमा पकाउँदा पनि पुग्दैन। त्यो अवस्थामा के हुन्छ, सबैको भावनाको सम्बोधन गर्न सकिँदैन। आगामी दिनमा जनताका धेरै काम पूरा गर्न सक्षम हुनेछ।’ 
 

सुझावित समाचार