भ्रातृ संस्थालाई सुस्त गतिमा पूर्णता दिँदै कांग्रेस

शुक्रबार, १५ असार, २०८०
डिजिटल संस्करण

विवादको डरले पदाधिकारीविहीन तरुण दलको ‘जम्बो कार्यसमिति’ 

कांग्रेसले महाधिवेशनको डेढ वर्षपछि विभिन्न भ्रातृ संस्थाको पूर्णतालाई अगाडि बढाएको छ । लामो समयसम्म महाधिवेशन हुन नसकेका भ्रातृ संस्थालाई महाधिवेशन गराउन कांग्रेसले तदर्थ समितिलाई प्लेन कार्यसमिति बनाएर पूर्णता दिन थालेको हो । 

बुधबार सभापति शेरबहादुर देउवाले तरुण दलमा चार सय केन्द्रीय सदस्य मनोनीत गरेका छन् । कांग्रेस कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार पदाधिकारीबाहेक केन्द्रीय समिति मात्रै रहेको कार्यसमिति बनाइएको हो । तरुण दल अध्यक्ष विद्वान गुरुङले नेतृत्वसँगको सल्लाहअनुसार नै ठूलो संख्यामा पदाधिकारीविहीन कमिटी बनेको जानकारी दिए । उनले अब एक वर्षभित्र महाधिवेशन गराइने दाबी गरे । ‘पार्टी नेतृत्व र अन्य नेतासँगको सल्लाहमा सबैलाई समेटेर प्लेन कमिटी ल्याइएको हो । प्लेन कमिटी ल्याउँदा विवाद पनि कम हुन्छ भन्ने सल्लाह सबैको थियो । एक वर्षभित्र तरुण दलको अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्छौँ,’ उनले भने ।

कांग्रेसले पदाधिकारीसहितको कमिटी गठन गर्दा विवाद हुने भएपछि ‘प्लेन कार्यसमिति’ बनाएर महाधिवेशनसम्म लैजाने रणनीतिअनुसार भ्रातृ संस्थालाई पूर्णता दिइरहेको छ । समयमा नेतृत्व हस्तान्तरण नहुँदा नेतृत्वका आकांक्षी र संख्या धेरै हुँदा कांग्रेसलाई नेता–कार्यकर्ता व्यवस्थापनमा सकस छ । कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुरले सभापतिले सबैलाई समेटेर कार्यसमिति घोषणा गरिरहेको बताए । उनले सबैलाई समेट्दा संख्या ठूलो देखिएको भए पनि परिणामलाई हेर्नुपर्ने जिकिर गरे । ‘जम्बो र पदाधिकारीविहीन भयो भन्दा पनि कार्यसमिति बन्यो, त्यो ठूलो कुरा हो । भ्रातृ संस्थाको जिम्मा सभापतिलाई दिइएको हो । सबैलाई समेटेर ल्याइएको छ,’ उनले भने ।

०७३ पछि तरुण दलको नियमित अधिवेशन हुन सकेको छैन । समयमा नेतृत्व हस्तान्तरण नहुँदाको असर कांग्रेसको १४औँ महाधिवेशनबाट देखिन थालेको हो । तरुण दल अध्यक्ष रहेका जितजंग बस्नेत कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भए । बस्नेत पाँच महिना तरुण दलको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्यको दोहोरो जिम्मेवारीमा रहेपछि ९ चैत ०७८ मा सभापति देउवाले विद्वान गुरुङलाई तदर्थ समितिको अध्यक्ष बनाएका थिए । त्यसयता केन्द्रीय समिति अपूर्ण रहँदै आएको थियो । 

नेविसंघको पनि कार्यसमिति घोषणाको तयारी भइरहेको छ । ०७३ पछि नेविसंघको पनि महाधिवेशन हुन सकेको छैन । साढे दुई वर्षमा महाधिवेशन हुन नसकेपछि अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए । १६ माघ ०७६ मा राजीव ढुंगानाको संयोजकत्वमा तदर्थ समिति बनाइएको थियो । तर, उनी पनि कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य बनेपछि पनि दोहोरो जिम्मेवारीमा रहने अवस्था आयो । ९ चैत ०७८ मा दुजाङ शेर्पाको संयोजकत्वमा तदर्थ समिति बनाइयो । पटक–पटक तदर्थ समितिको म्याद थप भयो । अझै तदर्थ समितिको कार्यसमितिले पूर्णता पाउन सकेको छैन । महाधिवेशन नहुँदा भ्रातृ संस्थाहरूबाट कांग्रेसले तीनै तहको निर्वाचनमा लिन सक्ने लाभसमेत गुमाएको छ । साथै, प्रतिस्पर्धी राजनीतिक दलका भ्रातृ संस्थाको तुलनामा कमजोर उपस्थिति देखिँदै आएको छ ।

०७८ फागुनमा कांग्रेस कार्यसमिति बैठकले महाधिवेशन हुन नसकेका १० भ्रातृ संस्थाको कार्यसमिति विघटन गर्दै फागुन मसान्तभित्र तदर्थ समिति बनाउने निर्णय गरेको थियो । यसको जिम्मा सभापति देउवालाई दिएको थियो । तीनै तहको निर्वाचन परिणाम आएको तीन महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने र समयमा सम्पन्न गर्न नसके कार्यसमिति स्वतः विघटन हुने निर्णय गरेको थियो । तर, यो अवधिमा कुनै पनि भ्रातृ संस्थाको अधिवेशन हुन सकेन । 

०६४ पछि महाधिवेशन हुन नसकेको किसान महासंघमा १० असारमा गणेशचन्द्र तिमल्सिनाको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ । कार्यसमितिमा १७ सदस्य थप भएका छन् । अध्यक्ष तिमल्सिनाका अनुसार बाँकी थपिने क्रममा छन् । ०७३ पछि महाधिवेशन नभएको नेपाल महिला संघमा २६ साउन ०७९ मा उषा राउत मिश्रको संयोजकत्वमा बनेका तदर्थ समितिमा ३० जेठमा ५२ केन्द्रीय सदस्य नियुक्त भएका छन् । 

कांग्रेसले २ साउन ०७९ मा केन्द्रीय कार्यसमितिले महासंघमा आबद्ध गर्ने र नयाँलाई मान्यता दिने निर्णय गरेसँगै १३ भ्रातृ संस्था अस्तित्वमा छन् । तर, अस्तित्वमा रहेका कुनै पनि भ्रातृ संस्थाको अधिवेशन हुन सकेको छैन । 

नौ भ्रातृ संस्थाको तदर्थ समिति बन्ने टुंगो छैन 

नेपाल प्रजातन्त्र सेनानी संघ : ०६४ मा महाधिवेशन भयो । ०६९ पछि महाधिवेशनको तयारी अन्तिम अवस्थामा रोकियो । त्यसयता महाधिवेशन हुन सकेको छैन । यसअघि टंकप्रसाद शर्मा कँडेल सभापति थिए । कँडेलका अनुसार अहिले तदर्थ समितिसमेत अस्तित्वमा छैन । 

नेपाल दलित संघ : ०६९ पछि महाधिवेशन हुन सकेको छैन । मीन विश्वकर्मा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेपछि तदर्थ समितिसमेत अस्तित्वमा छैन । जिल्ला अधिवेशन सकिएर ७ चैत ०७८ मा केन्द्रीय महाधिवेशको निर्देशन पाएको संघको पछिल्लो समय महाधिवेशनको चर्चा छैन । केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीका अनुसार निर्वाचनका कारण रोकिएको अधिवेशनको चर्चा पछिल्लो समय छैन । 

नेपाल भूतपूर्व सैनिक संघ : २३ जेठ ०७३ पछि महाधिवेशन भएको छैन । ३ फागुन ०७८ मा कांग्रेस कार्यसमितिले कार्यसमिति विघटन गरेपछि तदर्थ समिति पनि गठन भएको छैन । 

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ : ०६४ बाट महाधिवेशन हुन नसकेको संघलाई अहिले लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बनाइएको छ । महासंघमा भ्रातृ संस्थाहरू राष्ट्रिय तामाङ संघ र तामाङ संघ तथा शुभेच्छुक संस्थाहरू लोकतान्त्रिक शेर्पा संघ, नेपाल कुमाल संघ र लोकतान्त्रिक नेवाः खललाई आबद्धता दिइएको छ । मगर संघको भने अधिवेशन भइसकेको छ । 

राष्ट्रिय लोकतान्त्रिक अपांग संघ : ०६६ मा मान्यता पाएको संघको अधिवेशन नै हुन सकेको छैन । 

नेपाल मुस्लिम संघ : ०७५ वैशाखमा महाधिवेशन भएको थियो । संघको पनि तदर्थ समिति बन्न सकेको छैन ।

नेपाल ठाकुर समाज : महासचिव मेघराज ठाकुरका अनुसार एक ०७९ साउनमा महाधिवेशन भएको थियो । तर, केन्द्रीय समितिले विघटन गरेपछि अनिरुद्रप्रसाद ठाकुरको संयोजकत्वमा तदर्थ समिति बनेको छ । पूर्णता पाउन सकेको थिएन ।

नेपाल थारू संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ : २ साउन ०७९ मा केन्द्रीय समितिबाट नयाँ मान्यता पाएका यी संस्थाको तदर्थ समितिको संयोजकसमेत टुंगो लागेको छैन ।

सुझावित समाचार