नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले विचारविनाका पार्टीहरूको लहर चलेको टिप्पणी गरेका छन्।
बिहीबार मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचारविनाका पार्टीहरूको लहर चलेको बताए। राजनीतिक दल र नेताहरूले गरेको योगदानको चर्चा र स्मरण गर्न नसकिएको भन्दै उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटी अन्त्य हुँदै गएकोमा चिन्ता व्यक्त गरे।
‘राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन् । अहिले एउटा लहर चलेको छ । विचार नचाहिने, विनाविचार हामी आयौँ भन्ने लहर चलेको छ । योगदान सम्झिनु जरुरी छैन, योगदान बिर्सिए हुन्छ, योगदानको के मतलब छ र ? कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ हाम्रा पूर्वजका योगदान सम्झिने, कसलाई फुर्सद छ आफ्ना आमाबाबुको योगदानको चर्चा गर्ने ? महिमा गाउने वा आमाबुबाप्रति कृतज्ञ हुने ? भन्ने खालका विचारहरू पनि आज सुनिन्छन् । तर, हामीविना इतिहास, समाज यहाँ आएको छैन । धेरै उतारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो,’ उनले भने।
अध्यक्ष ओलीले मौलिकताविनाको आन्दोलनहरू सफल हुन नसक्ने विचार व्यक्त गरे।