शेर्पा र मगरलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण

डा. मिंमारग्याल्जेन शेर्पा यस वर्षको राष्ट्रिय मदन भण्डारी पुरस्कारबाट सम्मानित भएका छन्। त्यस्तै, मदन भण्डारी सामाजिक रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारबाट तेक्वान्दो खेलाडी निरुकुमारी मगर सम्मानित भएकी छिन्।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले बिहीबार राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई पुरस्कृत गरिन्। दुवै पुरस्कारको राशि जनही १ लाख र ताम्रपत्र छ।

४५ वर्षदेखि स्वास्थ्य क्षेत्रमा क्रियाशील शेर्पा सोलुखम्बु दूधकुण्डका हुन्। ०१८ सालमा कोलम्बो प्लानअन्तर्गत चिकित्सा अध्ययन गरेर उनी स्वास्थ्य सेवामा प्रवेश गरेका थिए। त्यस्तै, मगर ३१ वर्षदेखि खेल क्षेत्रमा क्रियाशील छिन्।

स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक रहेका डा. शेर्पा टेलिमेडिसिन सेवा, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमको विस्तार, दुर्गममा लामो समय सेवा र सरकारी सेवाबाट अवकाशपछि पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा दिन सक्रिय रहेका छन्।

मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ का लागि १६ जना आवेदकमध्येबाट शेर्पालाई छनोट गरिएको र मदन भण्डारी सामाजिक रूपान्तरण राष्ट्रिय पुरस्कारका लागि पाँच आवदेकमध्ये मगरलाई छनोट गरिएको मदन भण्डारी फाउन्डेसनले जनाएको छ।

सुझावित समाचार