उपत्यकामा बिआरटी बस चलाउन प्रधानमन्त्री कार्यालयले दियो स्वीकृति

बिहिबार, १४ असार, २०८०
डिजिटल संस्करण
उपत्यकामा बिआरटी बस चलाउन प्रधानमन्त्री कार्यालयले दियो स्वीकृति

बिआरटी सब चलाउन प्रस्ताव गरिएको सूर्यविनायक–रत्नपार्क सडकको कोटेश्वर–सूर्यविनायक खण्ड । तस्बिर : नयाँ पत्रिका

पहिलो चरणमा सूर्यविनायकदेखि रत्नपार्कसम्म चलाइने, कार्ययोजना बनाउँदै यातायात व्यवस्था विभाग

भनेको वेला सार्वजनिक यातायात नपाउने पाए पनि अत्यधिक जाम र भिडका कारण भक्तपुर–काठमाडौं यात्रा गर्ने सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आइरहेका छन् । निर्धारित भाडा तिर्दा पनि गुणस्तरीय सेवा नपाउँदा यस क्षेत्रका यात्रुले समयको बर्बादी र स्वास्थ्यमा समेत असर परिरहेको गुनासो गरिरहेका थिए । अब यस रुटका यात्रुहरूलाई राहत मिल्ने गरी सरकारले सुधारिएको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब १३ किलोमिटर दूरीमा सुधारिएको बस (बस र्‍यापिड ट्रान्जिट) सञ्चालन गर्न प्रधानमन्त्री कार्यालयले स्वीकृति दिएको छ । बिआरटी बस सञ्चालनपछि ३५ मिनेटमै यो गन्तव्य पार हुन्छ, हाल यो दूरी पार गर्न डेढ–दुई घन्टासम्म समय लाग्ने गर्छ । 

उपत्यकामा पहिलो चरणमा सूर्यविनायकदेखि रत्नपार्कसम्म सुधारिएको बस सेवा (बस र्‍यापिड ट्रान्जिट) सञ्चालन गर्न सकिने अध्ययनले देखाएको थियो । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बनेको काठमाडौं उपत्यकामा डेडिकेटेड लेनमा ठूला बस सञ्चालन गर्नेसम्बन्धी अध्ययन कार्यदलले गरेको अध्ययनमा यस्तो देखिएको हो । सरकारले सुधारिएको बस सेवा सञ्चालनका लागि गत ११ वैशाखमा कार्यदल गठन गरेपछि २१ जेठदेखि ५ असारसम्म अध्ययन गरेको थियो ।

अध्ययनमा उपत्यकाको बढी यात्रुको चाप हुने क्षेत्रमा सुधारिएको बस सेवा सञ्चालन गर्न सकिने देखिएको विभागका महानिर्देशक भट्टराईले जानकारी दिए । उनका अनुसार ६ असारमा अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा आयोजित बैठकमा पेस गरिएको थियो । बैठकले उक्त बस सेवा सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको हो । ‘अध्ययन सकेपछि प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन पेस गरिसकेका थियौँ,’ महानिर्देशक भट्टराईले भने, ‘कार्यालयबाट स्वीकृति पाएपछि विभागले थप गृहकार्य गरिरहेको छ ।’ उनका अनुसार स्वीकृतिसहित विभागलाई गृहकार्य गर्न निर्देशन आएको छ । पत्रमा सुरुको चरणमा सूर्यविनायक–रत्नपार्क खण्डमा बस सञ्चालन गर्न अनुरोध गरेको छ । 

उक्त बस सेवा सञ्चालनपछि यात्रुहरू ट्राफिक जाममा नपर्ने, गन्तव्यमा छिटो पुग्ने र सार्वजनिक यातायातप्रति सर्वसाधारणको आकर्षण बढ्ने विश्वास छ । नेपालमा यस्तो सुविधासहितको बस सञ्चालन पहिलो हुनेछ । यसअघि सन् २०१८ मा पनि दु्रत बस सेवा सञ्चालनबारे लगानी बोर्डको टोलीले अध्ययन गरेको थियो  । उक्त अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय, तत्कालीन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायतमा बुझाएको थियो  । अध्ययनले द्रुत बस सञ्चालनको सम्भावना देखाए पनि सरकारले बेवास्ता गर्दै आएको थियो । तर, पछिल्लो समय यसबारे प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले प्राथमिकतामा राखेपछि बस सेवा सञ्चालनको सम्भावना बढेको हो । 

के हो बिआरटी ?
सुधारिएको बस सेवा (बिआरटी) अन्तर्गतका बस चल्ने छुट्टै लेन, नियम, टाइमकार्ड, रुट हुन्छ । सरकारले बस र्‍यापिड ट्रान्जिटको नियम लागू गरेपछि यातायात व्यवस्था विभागबाट अनुमति लिएर निजी बस कम्पनीले सञ्चालन गर्न सक्नेछन् । यस नियमअनुसार ‘प्रायोरिटी सिग्नलिङ सिस्टम’मा बस सञ्चालन गरिन्छ । यस्ता बसले पूर्ण रूपमा रोकिएर यात्रु कुर्न पाउँदैनन् । उनीहरूलाई स्टप तथा एक्जिट प्वाइन्टमा ६०–९० सेकेन्ड तोकिनेछ  । यदि नियम उल्लंघन गरे कारबाही हुनेछ  । यी बसको निगरानी भने ट्राफिक प्रहरीले गर्न सक्छन्  ।

सर्भिस लेनमा बिआरटी बस चलाउन सकिने
यो प्रणालीअन्तर्गत बस सञ्चालनका लागि अध्ययन कार्यदलले हालकै सर्भिस लेन प्रयोग गर्न सकिने सुझाव दिएको छ । प्रधानमन्त्री कार्यालयले अनुमति दिएपछि विभागले विज्ञसहितको टोलीलाई भाडा निर्धारण, बस संख्या र रुटको निर्क्योल, लेन मार्किङ, बसको मापदण्ड बनाउन जिम्मेवारी दिएको छ ।

यातायातविज्ञ आशिष गजुरेलले नेपालमा बिआरटी बस सेवा सञ्चालन हाउगुजी मात्रै नबनोस् भनेर कामना गरे । ‘डेडिकेटेड लेनबाट चलाइने यस्तो बस सेवा सहरी क्षेत्रका लागि अपरिहार्य छ,’ उनले भने, ‘अन्य देशमा यस्तो अभ्यास छ र यसलाई नेपालमा पनि सञ्चालन गर्न सकिन्छ । त्यहीअनुसारको ट्राफिक नियम डिजाइन गर्न सकिन्छ ।’ सूर्यविनायकदेखि रत्नपार्कसम्म पुग्न ३५ मिनेट लाग्ने कार्यदलले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । विभागका अनुसार सुरुमा ५–१० वटा बस यो नियममा सञ्चालन गर्ने तयारी छ । यसको माग, प्रभावकारिता र सहजता देखिए बस थप गरिनेछ । 

भइरहेकै बसलाई मापदण्ड बनाएर सञ्चालन गरिने 
यो सेवाका लागि सरकारले तत्काल नयाँ बस नकिन्ने र हाल सञ्चालनमै रहेका बसलाई यो नियमअनुसार चलाउने योजना अघि सारेको छ । विभागले पनि उपत्यकामा गुड्ने, सुविधायुक्त बस व्यवसायीहरूसँग छलफल गरिरहेको छ । साझा, महानगर, मयूरजस्ता बसलाई यो नियमअनुसार सञ्चालन गर्न सजिलो हुने विभागको अनुमान छ । ठूला बसहरूलाई यो नियममा हिँड्न प्रोत्साहन गरिनेछ । सडकमा फरक नियमसहित गुड्न पाउने भएकाले बस कम्पनीहरू यसमा आकर्षित हुने विभागको भनाइ छ । यस किसिमको बस सेवा सञ्चालनका लागि सडक तथा यातायात पूर्वाधार पनि फरक चाहिन्छ  । बस पनि ठूला र दुवैतर्फ ढोका भएका आवश्यक हुन्छन् । तर, पहिलो चरणमा भइरहेकै सडकको लेन मार्किङ गरेर र भइरहेकै बसलाई प्रयोग गरेर यस्तो बस सेवा सञ्चालन गरिनेछ । 

See More On

सुझावित समाचार