आर्थिक विकासमा धितोपत्र बजारले कसरी भूमिका खेल्छ ?

जानीराखौँ

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

धितोपत्र बजारले पुँजी परिचालनको एक महत्वपूर्ण संयन्त्रको रूपमा कार्य गरी देशको आर्थिक विकासमा अपरिहार्य भूमिका खेल्छ । दीर्घकालीन पुँजीको अर्थतन्त्रलाई उत्पादनशील क्षेत्रमा परिचालन गराई प्राप्त प्रतिफललाई अधिकाधिक व्यक्तिले उपभोग गर्न पाउने अवसरको सिर्जना गर्ने धितोपत्र बजारको उद्देश्य रहेको हुन्छ । यसर्थ, देशको आर्थिक विकासमा धितोपत्र बजारको भूमिकालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ :

देशमा आवश्यक हुने दीर्घकालीन पुँजीको प्रभावकारी परिचालन यस बजारमार्फत गर्न सकिन्छ ।कुनै पनि देशको विकास निर्माणमा सरकारलाई चाहिने दीर्घकालीन पुँजी यसै बजारका माध्यमबाट संकलन गर्न सकिन्छ । देशको औद्योगीकरण तथा पूर्वाधार विकासका लागि आवश्यक हुने ठूलो आकारको पुँजी प्राप्त गर्नका लागि यस बजारको उल्लेखनीय भूमिका रहन्छ ।

दीर्घकालीन तथा मध्यमकालीन पुँजी न्यून लागतमा यस बजारमार्फत प्राप्त गर्न सकिने हुँदा ठूलो आकारको पुँजी आवश्यक हुने योजनाहरूसमेत बनाउन सम्भव हुन्छ ।

पुँजीको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय परिचालन सरल एवं न्यून लागतमा गर्न सम्भव हुन्छ ।देशको वित्तीय बजारको अभिन्न अंगको रूपमा रहने हुँदा यसले समग्र बजारको सन्तुलित एवं एकीकृत विकास हुन सहयोग पुग्छ ।

सुझावित समाचार