पेट्रोल, डिजेल र विद्युतकाे विकल्प बन्ला हाइड्रोजन ?

खाना पकाउन, गाडी चलाउन, हवाईजहाज उडाउन पनि हाइड्रोजन ऊर्जाको प्रयोग गर्न सकिने विशेषज्ञ एवं वैज्ञानिकहरूले बताउँदै आएका छन्

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

अधिक कार्बन उत्सर्जन, यसले जलवायु परिवर्तनमा पार्ने प्रभाव र प्राकृतिक ग्यासको मूल्यवृद्धिजस्ता कारणले हाइड्रोजन चर्चामा छ । खाना पकाउन, गाडी चलाउन, हवाईजहाज उडाउन पनि हाइड्रोजन ऊर्जाको प्रयोग गर्न सकिने विशेषज्ञ एवं वैज्ञानिकले बताउँदै आएका छन् । 

थाहा पाउनुपर्ने विषय के भने पेट्रोल या कोइलाबाट ग्यास बन्छ । यसले समग्र पर्यावरणलाई नै प्रदूषित बनाउँछ । तर, हाइड्रोजन जलेपछि अक्सिजन र हाइड्रोजन मिलेर पानीमा परिवर्तन हुन्छ, जसले गर्दा कार्बन उत्सर्जन हुन पाउँदैन । वैज्ञानिकले यसलाई अक्षय ऊर्जा मान्न सकिने र हाइड्रोजन जलवायु परिवर्तनको समस्या कम गर्न पनि सहयोगी हुने बताउँदै आएका छन् । 

हाइड्रोजन कसरी बन्छ इन्धन ? :  बेलायतको सेफिल्ड युनिभर्सिटीमा केमिक इन्जिनियरिङका प्रोफेसर तथा बेलायती संस्थामा हाइड्रोजनको प्रयोगबारे शोध गरिरहेकी रेचेल रथमनका अनुसार हाइड्रोजनलाई विभिन्न तरिकाले जलाई इन्धनको काम लिन सकिन्छ । तर, महत्वपूर्ण कुरा भनेको यसलाई स्वच्छ रूपमा जलाउनुपर्छ । रेचेलको भनाइमा हाइड्रोजन पृथ्वीमा प्राकृतिक रूपले मिल्दैन । तर, पानी, हाइड्रोजन कार्बनका रूपमा कोइला, ग्यास र तेलमा चाहिँ मिल्छ । हाइड्रोजन स्रोत अर्थात् प्राकृतिक ग्यासबाट हाइड्रोजन निकाल्ने प्रक्रियालाई स्मिट मिथेन रिफर्मिङ भनिन्छ । यसको प्रयोग संसारभर भएको छ, जसमार्फत प्रत्येक वर्ष १२ करोड टन हाइड्रोजन बनाइन्छ । 

‘यसबाट कार्बन ग्यास पनि उत्सर्जन हुन्छ,’ रथमन भन्छिन्, ‘यसकारण हाइड्रोजन बनाउने सबैभन्दा उत्तम उपाय भनेको त्यसलाई पानीबाट निकाल्ने । यसलाई इलेक्ट्रोलिसिस पनि भनिन्छ । यो प्रक्रियामा अक्सिजन मात्रै बाहिर निस्किन्छ ।’ हाइड्रोजन बनाउने प्रक्रियालाई नीलो, हरियो र खैरो रङको चार्टमा देखाएर कति कार्बन बाहिर निस्कन्छ भन्ने देखाउन सकिन्छ । रथमनका अनुसार हाल मिथेन स्टिम रिफर्मिङको खैरो (ब्राउन) प्रक्रियाबाट कार्बन ग्यास पनि निस्केर हावामा मिसिन्छ । तर, नीलो (ब्लु) प्रक्रियामा यसबाट निस्कने कार्बन ग्यास एकत्रित गरी त्यसलाई अन्यन्त्र प्रयोग गर्न सकिन्छ । अनि सबभन्दा राम्रो भनेको हरियो (ग्रिन) प्रक्रिया हो, अर्थात् पानीबाट हाइड्रोजन बनाउने प्रक्रिया । 

हवाईजहाज, ट्रेन र गाडी  :  विश्वभर नै यायायातका साधनमा ठूलो मात्रामा ऊर्जा खर्च हुन्छ । यसरी हेर्दा यो कार्बन उत्सर्जनको ठूलो स्रोत पनि हो । अहिले सडकमा विद्युतीय सवारीसाधन चल्न थालेका छन् । यी सवारीसाधन लिथियम ब्याट्रीका आधारमा चल्छन् । तर, ठूलो ट्रक्र, ट्रेन र डुंगा चलाउन लिथियम ब्याट्रीले पुग्दैन । यस्तो अवस्थामा हाइड्रोजनको प्रयोग सही साबित हुन सक्छ । विश्वभरका संस्थालाई स्वच्छ ऊर्जा प्रयोगबारे सुझाव सल्लाह दिने संस्था क्लिन एयर टास्कका प्रबन्धक थोमस वाकर मालवाहक जहाज र ट्रक हाइड्रोजनबाट चलाउन सकिने बताउँछन् ।

विश्वमा सवारीसाधनबाट हुने कार्बन उत्सर्जनको दुईदेखि तीन प्रतिशत मालवाहक जहाजबाट हुन्छ । यसमा नाइट्रोजन र हाइड्रोजनलाई इन्धनसरह प्रयोग गर्दा कार्बन उत्सर्जनमा कमी ल्याउन सकिन्छ ।

उनका अनुसार विश्वमा सवारीसाधनबाट हुने कार्बन उत्सर्जनको दुईदेखि तीन प्रतिशत मालवाहक जहाजबाट हुन्छ । यसमा नाइट्रोजन र हाइड्रोजनलाई इन्धनसरह प्रयोग गर्दा कार्बन उत्सर्जनमा कमी ल्याउन सकिन्छ । यस्तै, सामान ओसारपसार गर्न प्रयोग हुने मालवाहक ट्रकमा ब्याट्रीको सट्टा कम्बस्टन इन्जिनमा हाइड्रोजन भरेर चलाउँदा ट्रकले लामो दूरीको यात्रा गर्न सक्छ । तर, ब्याट्री प्रयोग गर्दा समस्या देखिन सक्छ । यस्ता खालका ब्याट्री निकै ठूला हुने र एक हजार किलोवाटको ब्याट्री चार्ज गर्न पाँच घन्टा समय लाग्न सक्छ । तर, सोही ट्रकमा हाइड्रोजन भर्न मात्रै २० मिनेटको समय लाग्छ । 

त्यसो त हाइड्रोजन पनि समस्यामुक्त छैन । यो भर्न गतिलो उपकरण चाहिन्छ । कारण, दबाबले गर्दा यो अत्यधिक तात्ने हुन्छ । यदि उपकरण र प्रविधिको समस्या समाधान भइहाले पनि हरेक ठाउँमा पर्याप्त मात्रामा हाइड्रोजन पम्प उपलब्ध हुने/नहुने सुनिश्चितता गर्नुपर्छ । वाकरका अनुसार यसका लागि पूर्वाधार बनाउनुपर्छ र यसमा सरकारले पनि सहयोग गर्नुपर्छ । 

अब विषय हवाईजहाजको । के हवाईजहाजमा पनि हाइड्रोजन प्रयोग हुन सक्छ ? हो, हुन सक्छ । यसको प्रयोगले हवाई यातायातमा परिवर्तन ल्याउन सक्छ । यातायातबाट हुने कार्बन उत्सर्जनमध्ये विमानबाट मात्रै १० प्रतिशत उत्सर्जन हुन्छ । तर, वाकरको भनाइ मान्ने हो भने यसको प्रयोगमा कम्तीमा १० देखि २० वर्षको समय लाग्न सक्छ ।

घर तथा उद्योगमा प्रयोग :  हाइड्रोजनको प्रयोग भान्सामा खाना पकाउन र घरलाई न्यायो राख्न पनि गर्न सकिन्छ । बेलायतमा खाना पकाउन तथा घर न्यायो पार्न ८० प्रतिशतभन्दा बढी प्राकृतिक ग्यास प्रयोग हुने ऊर्जाविज्ञ सारा वाकरको भनाइ छ । यो अवस्थामा कार्बन उत्सर्जन कम गर्ने लक्ष्य प्राप्त गर्न हाइड्रोजन यसको उत्तम विकल्प बन्न सक्छ । बेलायत सरकार सन् २०२६ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्त गर्न चाहन्छ । यसका लागि सरकारले हाइड्रोजन उत्पादन र आपूर्ति शृंखलाको ढाँचा बनाउन कस्तो लगानी गर्ने भन्ने तय गर्नुपर्छ । यसलाई इन्धनका रूपमा अपनाउँदा सुरुवाती चरणमा यसको प्रयोग घर न्यायो पार्नभन्दा पनि ठूला उद्योगमा गर्दा ठीक हुने सारा वाकरको भनाइ छ । 

सुझावित समाचार