५० लाख दाइजो माग्दै धम्क्याएको आरोपमा नक्सालस्थित विवाहमण्डपबाटै बेहुला पक्राउ

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

दाइजो माग्दै बेहुली पक्षलाई धम्क्याएको आरोपमा काठमाडौंको नक्सालबाट प्रहरीले मंगलबार बेहुलालाई पक्राउ गरेको छ।

सुनसरी दुहबी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौंको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले विवाहमण्डपबाटै पक्राउ गरेको हो। 

नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले थप पचास लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएका थिए। साथै, बेहुलीलाई हातपात र गाली बेइज्जती गरेका थिए। 

सोही सूचनाका आधारमा प्रहरी पुगेर बेहुलालाई पक्राउ गरेको काठमाडौं परिसरका एसपी सीताराज रिजालले बताए। प्रारम्भिक अनुसन्धानको क्रममा केटापक्षले दाइजोबापत २२ लाख रुपैयाँ लिइसकेको समेत खुलेको छ। 

आफू अमेरिकी ग्रिनकार्ड प्राप्त व्यक्ति भएको भन्दै बेहुलाले दाइजो मागेका हुन्। उनलाई विवाहसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद लिइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार