बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल गर्न बसेको प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाले अवरुद्ध गरेपछि स्थगित भएको छ।
आजको दोस्रो बैठकमा एमालेसहितका प्रतिपक्ष दलहरूले सरकारले ल्याएको बजेट विभेदकारी भएको भन्दै सदनमा विरोध गरेका थिए। एमाले र राप्रपाका सांसदहरूले आसनबाट उठेर निरन्तर विरोध गरेपछि सभामुख भुवनकुमार पाठकले आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन्।
बैठक सुरु हुनासाथ विशेष समय लिएर एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बोलेका थिए। उनले सरकारले बजेट निश्चित निर्वाचन क्षेत्रलाई मात्र समेटेर ल्याएको भन्दै बजेट विभेदकारी रहेको आरोप लगाए।
‘सरकारले बजेटमा सन्तुलन कायम गर्न सकेको छैन। सत्तापक्षका सांसद र प्रदेशको सिन्धुपाल्चोक, नुवाकोट र काभ्रे जिल्लाका केही निर्वाचन क्षेत्रलाई मात्र समेटेर बजेट विनियोजन गरिएको छ। बजेटमा प्रतिपक्षीका कुनै पनि सुझाव समेटिएका छैनन् । त्यसकारण बजेटलाई प्रतिपक्षी दल एमालेले समर्थन गर्न सक्दैन,’ उनले भने।
नेता थपलियाको सम्बोधन सकिएसँगै एमाले र राप्रपाका सांसदहरूले उभिएर बैठक सञ्चालनमा अवरोध गरेका थिए।
बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेटमाथिको छलफलको कार्यसूची रहेको छ। यसअघि आजै बसेको पहिलो बैठकले प्रदेश सभाको विषयगत समितिहरू घोषणा गरेको थियो।
प्रदेश सभामा कायम रहेको प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति घोषणा गरेर पहिलो बैठक स्थगित गरिएको थियो।