महोत्तरीका १५ मध्ये १३ पालिकाले ल्याए बजेट, दुईमा आन्तरिक विवादले बस्न सकेन सभा

मंगलबार, १२ असार, २०८०
डिजिटल संस्करण

महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये नौवटा नगरपालिका र चार गाउँपालिकाले आफ्नो नगर र गाउँसभा सम्पन्न गरेका छन्।

असार १० गतेसम्म नै सबै स्थानीय तहले सभा सम्पन्न गरिसक्नुपर्ने भए पनि सोनमा गाउँपालिका र गौशाला नगरपालिकाले आफ्नो सभा गर्न सकेका छैनन्।

सोनमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरूबीचको विवाद र गौशाला नगरपालिकामा नगरप्रमुख र उपप्रमुखबीचको मतभेदले यी दुई पालिकाले समयमै सभा सम्पन्न गर्न नसकेको जनप्रतिनिधिहरू बताउँछन्।

यता सभा सम्पन्न गर्ने गाउँपालिकाहरूमा समसी, पिपरा, एकडारा र महोत्तरी गाउँपालिका र भंगहा, बर्दिबास, रामगोपालपुर, औरही, मटिहानी, जलेश्वर, बलवा, लोहारपट्टी र मनरा सिस्वा नगरपालिका छन्।

सभा सम्पन्न गरेका स्थानीय तहमध्ये समसी गाउँपालिकाले ४९ करोड ८६ लाख ९० हजारबरारको अनुमानित बजेट प्रस्तुत गरेको छ। यस्तै, पिपरा गाउँपालिकाले ४६ करोड ७९ लाख ६५ हजार तीन सय ३० रुपैयाँबराबरको अनुमानित बजेट पेस गरेको छ। 

यता एकडारा गाउँपालिकाले ३६ करोड ५६ लाख ६५ हजार पाँच सयको बजेट ल्याएको छ भने महोत्तरी गाउँपालिका सबैभन्दा पहिले गाउँसभा सम्पन्न गर्दै ४२ करोड ६४ हजारको बजेट प्रस्तुत गरेको छ।

त्यस्तै, नगरपालिकाहरूमा भंगहा नगरपालिकाले ५८ करोड ९७ लाख १८ हजार, बर्दिबास नगरपालिकाले एक अर्ब पाँच करोड १९ लाख १८ हजार, रामगोपालपुर नगरपालिकाले ४२ करोड चार लाख २९ हजार आठ सय, औरही नगरपालिकाले ४० करोड ३३ लाख ५९ हजार पाँच सय, मटिहानी नगरपालिकाले ४० करोड ३९ लाख आठ हजार एक सयको बजेट विनियोजन गरेको छ।

यस्तै, जलेश्वर नगरपालिकाले ७१ करोड ५३ लाख ८० हजार, बलवा नगरपालिकाले ५४ करोड ९३ लाख ९७ हजार, लोहारपट्टी नगरपालिकाले ५५ करोड ३५ लाख ७९ हजार सात सय र मनरा सिस्वा नगरपालिकाले ५२ करोड ३९ लाख ३७ हजारको बजेट विनियोजित गरेको छ।

यससँगै गाउँपालिकामा सबैभन्दा बढी बजेट समसी गाउँपालिकाले छुट्याएको देखिन्छ भने नगरपालिकामा सबैभन्दा बढी बर्दिबास नगरपालिकाको छ। 

सुझावित समाचार