हप्ताको कारोबारको पहिलो दिन सेयर बजारमा उछाल आएको छ। सेयर बजार परिसूचक नेप्से आज ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको छ।
यो १० फागुनयताकै उच्च विन्दु हो। १० फागुनमा नेप्से २१ सय २१ विन्दुमा पुगेको थियो। आज सबै समूहको सेयर बढेको छ। यसमा पनि बिमा, उत्पादन, व्यापार र फाइनान्स समूहको सेयर उच्च अंकले बढेको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ। दुई सय ७५ वटा कम्पनीका एक करोड ४७ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४९ करोड चार लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ४९ करोड ९० लाख र सोल्टी होटेलको ३८ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ भने लाइफ इन्सुरेन्स कर्पोरेसेन, हिमालयन लाइफ इन्सुरेन्स, साम्लिङ पावर कम्पनी, बिपिडब्लु लघुवित्त, सिटी होटेल, शिवम् सिमेन्ट र एनएमबी ५० म्युचुअल फन्डको सेयर १० प्रतिशतले बढेको छ।