परिवर्तनलाई संस्थागत गर्न सांस्कृतिक रूपान्तरण आवश्यक : प्रधानमन्त्री

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय समानुपातिक गणतान्त्रिक युगअनुसारको संस्कृति निर्माण आजको आवश्यकता भएको बताएका छन्।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा उनले यस्तो धारणा राखेका हुन्। उनले ज्ञान तथा साहित्य कलालाई पछिल्लो समय विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्रै अपेक्षित सफलता हासिल गर्न सकिने बताए।

प्रधानमन्त्री प्रचण्डले अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सीमित हुन नहुने भन्दै सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण अभियान अघि आउन जरुरी रहेको औँल्याए।

‘अबको सिर्जना, अबको अनुसन्धान केवल परम्परा धान्नेमा मात्रै सीमित हुनुहुँदैन। यथास्थितिवादी सौन्दर्य चेतनाले मात्रै अब पुग्ने स्थिति पनि छैन। आज नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा परिवर्तन आएको छ। सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण अभियान अघि आउन जरुरी छ,’ उनले भने।

सुझावित समाचार