श्रीलंकाली बलर हसरांगाले १३ रन खर्चेर पाँच विकेट लिँदा ओमान ३०.२ ओभरमै ९८ रनमा अलआउट भयो । एकदिवसीय पूर्वविजेता श्रीलंकाले कुनै पनि विकेट नगुमाई १५ ओभरमा जित निकाल्यो ।
आइसिसी एकदिवसीय ग्लोबल छनोटअन्तर्गत शुक्रबार समूह ‘बी’मा श्रीलंकाले ओमानमाथि १० विकेटको सानदार जित निकालेको छ । सन् १९९६ को विश्वकप विजेता श्रीलंकाले एसोसिएट राष्ट्र ओमानलाई केवल ९८ रनमै समेटेको थियो । सहज लक्ष्य पछ्याएको श्रीलंकाले १५ ओभरमा विनाविकेटको क्षतिमा सय रन बनायो । श्रीलंकाले दुई सय १० बलअघि नै जित निकालेको हो । श्रीलंकाको जितमा निसांकाले ३७ रन तथा दिमुथ करुनारत्नेले ६१ रनको योगदान दिएका थिए ।
निसांकाले ३९ बलमा पाँच चौका प्रहार गरे । करुनारत्नेले ५१ बलमा आठ चौका प्रहार गर्दै श्रीलंकालाई समूहको शीर्ष स्थानमा पुर्याए । समूह ‘बी’मा लगातार दुई खेल जित्दै सनसनी मच्चाएको ओमानले विश्व क्रिकेटकै अनुभवी टोली श्रीलंकासँग ब्याटिङ र बलिङमा एकरूपता प्रदर्शन गर्न सकेन । ओमानले टेस्ट राष्ट्र आयरल्यान्डलाई स्तब्ध पारेको थियो । ओमानको हारसँगै यो समूह रोमाञ्चक बनेको छ । श्रीलंकाले दुई खेलबाट चार अंक बटुलेको छ । आइसिसी विश्वकप लिग–२ को विजेता स्कटल्यान्डले पनि दुई खेलबाट चारै अंक जोडेको छ । स्कटल्यान्ड दोस्रो स्थानमा छ । तेस्रो स्थानमा झरेको ओमानले तीन खेलबाट चार अंक जोडेको छ ।
आइसिसी विश्वकप लिग–२ को प्ले अफको दोस्रो स्थानमा रहँदै ग्लोबल छनोट स्थान पक्का गरेको युएई भने प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । ओमान र स्कटल्यान्डसँग पराजित आयरल्यान्डले दुई खेलबाट अंक जोडेको छैन । आयरल्यान्डले अंक गणितीय आधारमा प्ले अफ पुग्ने सम्भावना जीवितै राखेको छ । प्रत्येक समूहबाट तीन राष्ट्र सुपर सिक्समा पुग्नेछन् ।
हसरांगाले लिए पाँच विकेट
उत्कृष्ट फर्ममा रहेको ओमानको ब्याटिङ ध्वस्त पार्ने क्रममा वानिन्डु हसरांगाले घातक बलिङ गरे । उनको धारिलो बलिङको सामना गर्न नसक्दा ओमानले स्कोरबोर्डमा सय रन पनि कटाउन सकेन । हसरांगाले ७.२ ओभरमा १३ रन खर्चेर ओमानका पाँच विकेट हात पारे । यसक्रममा उनले तीनपटक मेडन ओभर फ्याँके । यसैगरी, लाहिरू कुमाराले आठ ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । ओमान इनिङ्सको एक समय ९.३ ओभरमा २०–४ को कमजोर स्थितिमा थियो । ओमानले बाँकी ६ विकेट ७८ रनमा गुमाएको थियो । ओमानले १४ अतिरिक्त रन पायो ।
ओमानको कमजोर ब्याटिङ इनिङ्समा आयान खानले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ६० बलमा चार चौका प्रहार गरे । ओमानका चार ब्याट्सम्यान डक आउट भएका थिए । ओमानले १.४ ओभरमा ओपनर कश्यप प्रजापतिलाई गुमाएको थियो । दोस्रो ओपनर जितेन्दर सिंहले ४३ बलमा २१ रन बनाए । ओमान ३०.२ ओभरमा ९८ रनमा अलआउट भएको थियो ।
स्कटल्यान्ड एक सय ११ रनले विजयी
समूह ‘बी’को अर्को खेलमा स्कटल्यान्डले युएईमाथि एक सय ११ रनको विशाल अन्तरले जित हात पारेको छ । बुलावायोमा भएको खेलमा स्कटल्यान्डले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८२ रन बनाएको थियो । प्रत्युत्तरमा युएईले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७१ रन मात्र जोड्यो । स्कटल्यान्डले आफ्नो पहिलो खेलमा आयरल्यान्डमाथि एक विकेटको सनसनी जित निकालेको थियो ।
उच्च मनोबलका साथ मैदानमा उत्रेको स्कटल्यान्डका लागि कप्तान रिची बेरिंटनले एक सय २७ रनको शतकीय इनिङ्स खेलेका थिए । उनले एक सय ३६ बलमा नौ चौका र तीन छक्का प्रहार गरे ।