देशभर फैलियो मनसुन, आइतबारसम्म धेरै ठाउँमा वर्षाको सम्भावना

अघिल्लो साता पूर्वी नेपालको पहाडी क्षेत्रमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तियो, यसपटक मध्य र पश्चिम नेपालका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

शनिबार, ९ असार, २०८०
डिजिटल संस्करण

मनसुनी प्रणाली भित्रिएको नौ दिनपछि देशभर फैलिएसँगै पश्चिम नेपालसम्मै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै ३१ जेठदेखि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको मनसुनी प्रणाली देशभर फैलिएको हो। हाल नेपालमा मनसुनी वायुसँगै भारतको उत्तर प्रदेशआसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव छ। मनसुनीसँगै न्यूनचापीय प्रणालीको प्रभावका कारण यसपटक मध्य र पश्चिम नेपालका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले आकलन गरेका छन्।

मौसमविद् राजु प्रधानांगका अनुसार आइतबारसम्म देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, शनिबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा आइतबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा ठूलो वर्षाको रहेको उनले बताए । ‘कुन–कुन जिल्ला वा कुन ठाउँमा ठूलो वर्षा हुन्छ भनेर आकलन गर्न सकिएको छैन,’ मौसमविद् प्रधानांगले भने, ‘प्रदेश भने छुट्याउन सकिएको छ ।’ शुक्रबार राति मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै तथा कोसीका एक–दुई स्थानमा ठूलो वर्षाको भएको छ ।

थोरै स्थान भन्नाले त्यहाँको कुल भूभागको १० देखि २५ प्रतिशत क्षेत्रमा वर्षा हुनुलाई बुझाउँछ । मौसम विभागले २४ घन्टमा १० मिलिमिटरभन्दा कम वर्षालाई हल्का, ११ देखि ५० मिलिमिटरभन्दा कम वर्षालाई मध्यम र ५० देखि सय मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भन्ने गर्छ । सयदेखि दुई सय मिलिमिटरसम्मको वर्षालाई धेरै भारी (धेरै ठूलो) वर्षा भन्ने गरिन्छ । तर, यो भूगोल र वर्षा मापन केन्द्रअनुसार फरक–फरक हुन्छ । 

महाशाखाले ठूलो वर्षाका कारण डुबान, बाढी, पहिरोको चेतावनी पनि दिएको छ । नेपालमा ३१ जेठमा मनसुन भित्रिएसँगै असार १ र २ गते पूर्वी पहाडी क्षेत्रमा ठूलो वर्षा हुँदा बाढीपहिरोले जनधनको क्षति भएको छ । शुक्रबार देशभरका धेरैजसो क्षेत्रमा वर्षा भएको छ । २४ घन्टा (शुक्रबार रातिसम्म) झापाको केचनामा १९१ र रुपन्देहीको लुम्बिनी क्षेत्रमा रहेको मापन केन्द्रमा १४१ मिलिमिटर वर्षा मापन भएको छ । त्यसबाहेक धेरै वर्षा रेकर्ड हुनेमा सिन्धुलीको कुस्माटारमा १३५, चितवनको ठोरीमा ११७.२, नवलपुरको देउरालीमा १०५.६, पाल्पाको बल्ड्याङगढीमा १०३.२ र चितवनको रामपुरमा १००.६ मिलिमिटर रहेको छ । 
 

See More On

सुझावित समाचार