४६३ मेगावाटका ३० आयोजनामा साढे आठ अर्ब क्षति गरेको प्रारम्भिक अनुमान

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

जलविद्युतमा पूर्वी नेपालको बाढीको कहर 
गत १ र २ असारमा ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क्षति पुगेको इप्पानको प्रारम्भिक अध्ययनले देखाएको छ । पूर्वी नेपालमा आएको बाढीले अहिलेसम्म ३० जलविद्युत् आयोजनामा साढे आठ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ ।

गत १ र २ असारमा ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले चार सय ६३ मेगावाट क्षमताका ३० वटा जलविद्युत् आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रारम्भिक अध्ययनले देखाएको हो ।

अप्रत्याशित बाढीका कारण एक सय ३२ मेगावाट विद्युत् उत्पादन गरिरहेका १२ वटा आयोजनामा करिब ६ अर्ब रुपैयाँबराबरको क्षति भएको इप्पानले जनाएको छ । विद्युत् उत्पादन गरिरहेको सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी– १ मा ५० करोड रुपैयाँबराबरको क्षति भएको छ ।

उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनामा एक अर्ब रुपैयाँबराबरको क्षति भएको आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले जानकारी दिए ।

भौतिक हिसाबले सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा– २ जलविद्युत् आयोजनामा ९० करोडबराबरको क्षति भएको मेन्छियाम हाइड्रोपावरका अध्यक्ष एवं संखुवासभाबाट प्रतिनिधिसभा सदस्य माननीय दीपक खड्काले बताए । 

उनका अनुसार उक्त आयोजनामा हेडवर्क्स, पाइप अलाइनमेन्ट, पावरहाउसलगायतका भौतिक संरचना पूर्ण रूपमा क्षति भएर आयोजनाको पुनर्निर्माणका लागि दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको छ ।

त्यस्तै, १४.९ मेगावाट क्षमताको हेवाखोला ए जलविद्युत् आयोजनामा ९५ करोड रुपैयाँबराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक पुष्पज्योति ढुंगानाले जानकारी दिए ।

निर्माणाधीन तीन सय २७ मेगावाटका १७ आयोजनामा साढे दुई अर्बभन्दा बढीको क्षति 
बाढीका कारण पूर्वी नेपालका चार जिल्लामा निर्माणाधीन १७ जलविद्युत् आयोजनामा साढे दुई अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

निर्माणाधीन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवाखोला जलविद्युत् आयोजनामा भएको छ । यो आयोजनामा ८० करोड रुपैयाँबराबरको क्षति भएको छ ।

उक्त आयोजना निर्माणमा खटिएका १८ मजदुरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । त्यसमध्ये अहिलेसम्म चारजनाको शव भेटिएको छ । अन्यको अवस्था अज्ञात छ । 

९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए ।

त्यस्तै, ९७.५ मेगावाटको इसुवाखोला जलविद्युत् आयोजनामा ५० करोड रुपैयाँबराबरको क्षति भएको आयोजनाका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले जानकारी दिए ।

९.७ मेगावाटको इंग्वाखोलामा पनि ५० करोडबराबरको क्षति भएको आयोजनाका प्रवर्द्धक सतिश न्यौपानेले जानकारी दिए ।

प्रभावित आयोजनाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै इप्पान
बाढीले प्रभावित आयोजनाबारे इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री, राष्ट्र बैंकका गभर्नर र बिमा प्राधिकरणका अध्यक्षलाई एक ठाउँमा राखेर जानकारी दिने तयारी गरेको छ ।

इप्पान अध्यक्ष गणेश कार्कीले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै सम्बद्ध सबै मन्त्रालयका मन्त्री र कार्यकारी प्रमुखलाई एक ठाउँमा राखेर प्रभावित आयोजनाबारे प्रस्तुतीकरणका लागि समय माग गरेका छन् ।

बाढीले क्षतिग्रस्त केही आयोजनाका तस्बिरहरू

सुझावित समाचार