सहज च्यालेन्जले कृषि सेवा प्रदायकलाई ५० लाखसम्म अनुदान दिने

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडिपी) अर्थात् सहज च्यालेन्ज फन्डले कृषि क्षेत्रका सेवा प्रदायकलाई ५० लाखसम्म अनुदान उपलब्ध गराउने भएको छ।

सहज च्यालेन्ज फन्डको चौथो र पाँचौँ संस्करणमार्फत नवीनतम उत्पादन विकास र गुणस्तर सुधार तथा पर्यावरणीय र वातावरणीय पहलहरूसम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई अनुदानका लागि आवेदन माग गरिएको शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

सहज च्यालेन्ज फन्डले मकै, अलैँची, दुग्ध उत्पादन र तरकारीको मूल्य शृंखलालाई सहज र छरितो बनाउन विकास तथा गुणस्तर सुधार र पाँचौँ चरणमा पर्यायवरणीय तथा वातावरणीय पहलका सेवा प्रदान गर्ने सेवा प्रदायकलाई सहयोग गर्ने नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडिपी)का टिमलिडर रिमा श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरेर सहयोग रकम तोकिनेछ। सहज च्यालेन्ज फन्डको चौथो चरणमा उपकरण तथा मेसिनेरी खरिदका लागि सहयोग उपलब्ध हुनेछैन भने पाँचौँ चरणमा प्राप्त हुने सहयोगबाट ३० प्रतिशत उपकरण तथा मेसिनेरी खरिदका लागि प्रयोग गर्न सकिनेछ।

अनुदानका लागि ७ साउनसम्म आवेदन दिन सकिनेछ। आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मूल्यांकन गरिने र सफल आवेदकलाई पूर्ण व्यावसायिक योजना बुझाउन समय दिइनेछ। 

एनएएमडिपीका कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठका अनुसार चौथो  चरणबाट प्रशोधित खाद्य पदार्थको माध्यमबाट उत्पादन विविधीकरणलाई सहयोग पुग्ने गरी उत्पादन र गुणस्तर सुधारमा परामर्श सेवा प्रदान गर्ने कम्पनीलाई अनुदान उपलब्ध गराइने बताइन्।

एनएएमडिपीका गैरकृषि सेवा प्रबन्धक ब्रजेश मल्लले च्यालेन्ज फण्डले जलवायु र वातावरणीय रूपमा दिगो अभ्यासमा सहयोग गर्ने कम्पनीलाई अनुदान उपलब्ध गराइने बताए। फन्डको पहिलो चरणमा लजिस्टिक्स र दोस्रो चरण डेरी व्यवसायको सेवामा केन्द्रित थियो। 
 

सुझावित समाचार