इन्जिनियरिङ सर्भेविनाको सडक निर्माणकार्य तत्काल बन्द गर्न सांसद खतिवडाको माग

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्।

सांसद खतिवडाले पहाडी जिल्लाहरूमा इन्जिनियरिङ सर्भेविना सडक निर्माणको काम हुँदा बृहत् रूपमा पहिरो जाने क्रम बढेर गएकाले त्यस्ता कामलाई सरकारले तत्काल बन्द गर्नुपर्ने बताए। शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले डोजर अपरेटर आफैँ इन्जिनियर बनेर सडक खन्ने काम गर्दा पहिरो जाने क्रम बढेको उल्लेख गरे।

‘समयमा रोडहरूको निर्माण नहुँदा र बाटो बनाउने नाममा जहाँ पायो त्यही इन्जिनियर इस्टिमेटविना बाटो निर्माण गर्ने कामले गर्दा पहिरो जाने समस्या बृहत् रूपमा आएको छ । अहिले डोजर ड्राइभर आफैँ नै इन्जिनियर भएर बाटो खन्दाको परिणाम व्यापक रूपमा यो समस्या आएको छ,’ उनले भने, ‘जति नेपाल सरकारले ठेक्कापट्टाबाट काम लगाउँछ, लगाएका कामहरू समयमा ठेकदारले पूरा नगर्दा असार आएपछि खोस्रिन जाने, खन्ने अनि पुर्ने काम भएकाले पहाडी क्षेत्रमा बाढीको प्रकोप, पहिरोको प्रकोप बढेको हुँदा सरकारको त्यतातिर ध्यान जाओस् भनेर अनुरोध गरेँ सभामुख महोदय।’

सांसद खतिवडाले वर्षातकै कारण पहिरोको जोखिममा परेका ओखलढुंगा बिलन्दुका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि सरकारको ध्यानाकर्षण गराए। सोही पहिरोले बगाउँदा सो गाउँका रणबहादुर गुरुङ र उनका परिवारका अन्य तीनजनाको ज्यान गएको छ।

सुझावित समाचार