‘उकालोमा पानी हिँड्छ ! कल्पनै थिएन’

शुक्रबार, ८ असार, २०८०
डिजिटल संस्करण

‘सदियौँदेखि खोलामा पानी बगेको देखेका थियौँ, त्यो पानी उकालो हिँडेर हाम्रा घरमा पिउने पानीको रूपमा प्रयोग हुन्छ, यो कल्पना पनि गरेका थिएनौँ, अहिलेको जमाना सजिलो लाग्यो, पानी पनि उकालो हिँड्दोरहेछ।’ 

५० वर्षीया कौशिला शाही अहिले दंग छन्। दैलेखको डाँडीमाडी बजार भैरवी गाउँपालिकाको मुख्य केन्द्र हो। यो बजारमा पानीको धेरै अभाव छ। खानेपानीको समस्या समाधानका लागि उपप्रमुख केशवबहादुर शाहीले ०७३ सालबाट अभियानको थालनी गरे। 

खोलाको पानी डाँडामा ल्याउँछु भन्दा यो नेता बौलायो भनेको स्मरण गर्दै शाहीले भने, ‘अहिले मलाई बौलायो भन्नेहरूसमेत अचम्ममा पर्नुभएको छ। गाउँघरमा खोलाको माथितिर आउँछ भन्ने कल्पनासमेत नभएकाले जनता आश्चर्यचकित भएका छन्।’

खोलाको पानी उकालोमा आउला र शुद्ध पानी पिउने अवसर मिल्ला भनेर कल्पनासमेत नगरेका दैलेखको भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाका सदरमुकामका बासिन्दा अहिले सुक्खाडाँडामा लिफ्टमार्फत पानी आएपछि दंग छन्। 

दैलेखको भैरवी गाउँपालिकाको मुख्य बजार डाँडी माडीका लागि खानेपानी अभाव थियो, अहिले चार सय ४० मिटर तल खोलाबाट सोलार लिफ्टमार्फत खानेपानी ल्याइएको छ। एक करोड ५० लाखमा यो योजना निर्माण सम्पन्न हुने तयारीमा छ । यो वर्ष एक सय धारामा पानीको सुविधा पुर्‍याउने तयारी थालिएको छ। 

दैलेखको दुल्लु नगरपालिका– ५, ७ र ८ लाई खानेपानीको समस्या समाधान गर्न विगत चार वर्षदेखि बार्तडी लिफ्ट योजनाको सुरुवात भयो, अहिले दुई सय ५० धारामा सहजै पानी उपलब्ध भएको छ। 

दुल्लु नगरपालिका र नगरपालिकाका सरकारी कार्यालयहरूमा समेत अहिले पानीको समस्या केही मात्रामा समाधान भएको छ। दुल्लु बजारमा लिफ्ट खानेपानीमार्फत अहिले दुई सय ५० धारामा पानी सञ्चालन गरिएको छ।

वेला–वेलामा सोलार सिस्टममा आउने समस्या समाधान गर्न र पानी दिगो रूपमा सञ्चालन गर्नका लागि उपभोक्ता समितिले मर्मत सम्भार कोष स्थापना गरेको छ। पानीको महसुलबाट कर्मचारी व्यवस्थापन र योजनाको दिगोपनाको काम भएको मार्तडी पम्पिङ खानेपानीकी अध्यक्ष सीता खड्काको भनाइ छ। 

दैलेखको दुल्लु नगरपालिका– १३ बैंक बजारमा समेत सोलार लिफ्टमार्फत तीन सय ४५ मिटरमाथि डाँडामा पानी जम्मा गरेर घरघरमा पानी पुगेपछि यहाँका बासिन्दासमेत अचम्ममा परेका छन्। खानेपानी आएसँगै स्थानीय बासिन्दाले करेसाबारीमा  खेर गएको पानीको उपयोग गर्दै तरकारी उत्पादन सुरु गरेका छन्।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखमार्फत दैलेखमा पानीको समस्या भएका विभिन्न स्थानहरूमा अहिले सोलार लिफ्टमार्फत खानेपानी पुर्‍याउने अभियान सुरु गरिएको कार्यालयका प्रमुख टोपेन्द्र मल्लले जानकारी दिएका छन्।

कतिपय योजनामा भने जति रकम प्राप्त हुन नसकेर योजना सम्पन्न गर्न कठिनाइ भएको मल्लको भनाइ छ। ‘विशेष गरेर दैलेखको क्षेत्र नं. २ मा खानेपानीको निकै ठूलो समस्या छ, यो समस्या समाधानका लागि करिब पाँचन्दा बढी सोलार लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ,’ मल्लले भने। 

यस आर्थिक वर्षमा खानेपानीबाट करिब पाँच हजारभन्दा बढी घरधुरीलाई लाभान्वित गर्ने योजना छ। केही क्रमागत योजना धमाधम निर्माण भइरहेका छन्।

उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न भएका र कतिपय निर्माणको चरणमा रहेका योजनाको दिगोपनाका लागि स्थानीय उपभोक्तालाई सक्रिय बनाउँदै योजनाको गुणस्तरीयता र दिगोपनाको अभियान सँगसँगै लगेका कारण दैलेखमा सोलार लिफ्ट योजना प्रभावकारी हुने देखिएको छ।

[स्थलगत रिपोर्ट]

सुझावित समाचार