गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
दुर्घटनामा परी सहिद लखन गाउँपालिका– ५ का १९ वर्षीय प्रवीण थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा र १७ वर्षीया नवीना थापा तथा सहिद लखन– ४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरूमध्ये तीनजनाको अवस्था गम्भीर रहेको डिएसपी लामिछानेले बताए । उनीहरूलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ । अन्य घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ ।
सहिद लखन गाउँपालिका– ३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन– ५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गएराति दुर्घटनामा परेको हो । घटनालगत्तै डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो । जिप सडकबाट झन्डै दुई सय मिटर तल खसेको बताइएको छ ।