स्थानीय तहमा भएको विवादले धनुषामा थुप्रियो रासायनिक मल

बिहिबार, ७ असार, २०८०
डिजिटल संस्करण

वेलावेलामा मल नपाएर किसानदेखि राजनीतिक दलसम्मको विरोध खेप्दै आएको धनुषामा विवादकै कारण यसपटक भने रोपाइँका लागि रासायनिक मलको अभाव नहुने भएको छ । स्थानीय तहको विवादका कारण यसअघि बिक्री–वितरण गर्न असहज भएपछि जनकपुरधाममा रहेको कृषि सामग्री कम्पनीको शाखामा रहेको मौज्दातले यो वर्ष किसानले मलको अभाव भोग्नुनपर्ने भएको हो ।

कार्यालयका प्रमुख रविकुमार केसरीका अनुसार अहिले गोदाममा युरिया एक हजार १३१ मेट्रिकटन, डिएपि ९६२ मेट्रिकटन र पोटास २ दमशल ७५० मेट्रिकटन मल मौज्दात रहेको छ । चालू आर्थिक वर्षमा अहिले सम्म चार हजार २७० मेट्रिकटन युरिया, दुई हजार ३४९ मेट्रिकटन डिएपी र २११ मेट्रिकटन पोटास मल वितरण भइसकेको उनको भनाइ छ । धान रोपाइँको सिजन सुरुभएसँगै अब रासायनिक मलको बिक्री–वितरण बढ्ने उनले बताए । 

कृषि सामग्री कम्पनी जनकपुरको गोदाममा अहिले रासायनिक मल पर्याप्त भए पनि धनुषा र महोत्तरीका लागि वार्षिक आवश्यकताबमोजिम मल अझै कम्पनीसँग नरहेको प्रमुख केसरीको भनाइ छ । कार्यालयको वार्षिक लक्ष्य युरिया नौ हजार, डिएपी ६ हजार र पोटास ५५१ मेट्रिकटन रहेको छ । जुन कम्पनीको मौज्दातभन्दा धेरै बढी हो । केसरीले बाँकी रहेको मल पनि केही दिनमा आइपुग्ने बताए । 

सिजनमा स्थानीय तहले आन्तरिक विवादका कारण सिफारिस नदिँदा धनुषा र महोत्तरी जिल्लामा रहेका दुई सय ६ थोक 
विक्रेतालाई मागअनुसारको मल उपलब्ध गराउन नसकेपछि हाल मल गोदाममै थन्किएको हो । स्थानीय तहको आन्तरिक विवादका कारण स्थानीय तहमा रहेका सहकारीहरूले मलको खरिद गर्न नसक्दा गोदामा ठूलो संख्यामा रासायनिक मलका बोरा थन्क्याएर राखिएका छन् ।

संघीय सरकारले धान, गहुँ, मकै र तरकारी खेती गर्ने किसानलाई प्राथमिकतामा राखी सहुलियतदरमा रासायनिक मल उपलब्ध गराउँदै आए पनि मल सम्बन्धमा सिफारिस गर्दा स्थानीय तहले विवाद गर्ने र समयमा सिफारिस नगर्दा थोक विक्रेताले माग गरेजति मल दिन नसकेको केसरीले बताए । किसानले समयमै मल पाउनका लागि स्थानीय तहमा देखिएका समस्या भने समाधान हुनुपर्ने उनको भनाइ छ । 
 

सुझावित समाचार