प्रतिनिधिसभा नियमावलीको व्यवस्थाविपरीत सूचना नदिएर सांसद बैठकमा अनुपस्थित हुने बेथितिलाई कसरी लिनुभएको छ ?
सूचना नदिएर गयल हुनु राम्रो होइन । सामान्यतया प्रतिनिधिसभा सदस्यले प्रमुख सचेतकमार्फत वा स्वयंले सभामुखलाई जानकारी गराउने प्रचलन छ । कुनै आकस्मिकता परी तत्काल जानुपर्दा हाउस छुट्न सक्छ । तर, जानकारी गराउनुपर्छ । यो सार्वजनिक जवाफदेहिताको कुरा हो ।
पहिलो अधिवेशनको हाजिरी विवरण हेर्दा पूर्वसूचना दिने नियम पालना नभएको देखियो । यसलाई कसरी प्रभावकारी कार्यान्वयनमा लान सकिएला ?
यस्तो विषय सार्वजनिक हुँदा हामीलाई सचेत हुन मद्दत पुग्छ । यसलाई कार्यान्वयन गर्नुपर्छ । जसरी अहिले बहस भएको छ, यसमा कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल गर्छाैं । सभामुखबाट पनि जानकारी गराउन रुलिङ होला । यो प्रणाली बसाउने कुरा हो । सांसदहरू कुनै पनि वेला छलफल र बहसका लागि हाउसमा चाहिन्छ । यसलाई नियमन गरेर प्रभावकारी बनाउन सकिन्छ ।
कार्यव्यवस्था परामर्श समिति सदस्यको हैसियतमा सांसदहरूलाई यहाँको के सुझाब छ ?
जनताको प्रतिनिधि भएर प्रतिनिधिसभामा आइसकेपछि अनुपस्थित हुनु राम्रो होइन । किनभने संसद् सबैभन्दा सार्वभौम र शक्तिशाली हो । त्यहाँ हुने सबै घटना, परिघटना र समय जनताको मुद्दा हुने भएकाले यो कदापि राम्रो होइन । तर, अन्य जिम्मेवारीमा पनि रहेका राजनीतिक दलका नेता–कार्यकर्तालाई कहिलेकाहीँ दुई–तीनवटा काम गर्दा कुन कामले देश र जनताको बृहत्तर हित हुन्छ, त्यो छान्नुपर्छ । त्यो छान्दा संसद् छोड्नुपर्यो भने पनि पार्टीभित्रको प्रमुख सचेतक वा स्वयंले जानकारी गराउँदा त्यसले सदनमा कुनै महत्वपूर्ण निर्णय गर्नुपर्दा, प्रस्तावउपर छलफल गर्दा अर्थ राख्ने भएकाले व्यवस्थित गरेर सञ्चार हुने गरी कारणसहित सूचना दिनुपर्छ ।