होन्डुरसको महिला कारागारमा झडप, ४१ कैदीको मृत्यु

बुधबार, ६ असार, २०८०
डिजिटल संस्करण

मध्य होन्डुरसको महिला कारागारमा भएको हिंसामा परी ४१ जना कैदीको मृत्यु भएको छ। सरकारी वकिलको कार्यालयका प्रवक्ता युरी मोराका अनुसार अधिकांश मृतकलाई जलाइएको छ भने अन्यलाई गोली लागेको छ।

मोराका अनुसार अनुसन्धानकर्ताहरूले राजधानी तेगुसिगाल्पानजिकैको तमारामा रहेको सुधार केन्द्रको अवलोकनपछि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्।

होन्डुरसका सुरक्षा उपमन्त्री तथा होन्डुरस पेनिटेन्टरी सिस्टमका प्रमुख जुलिसा भिल्लानुएभाले पत्रकार सम्मेलन गर्दै भनेका छन्, ‘मानवीय क्षतिबाट हामी मर्माहत भएका छौँ। हाम्रो देशको दण्ड प्रणालीलाई संगठित अपराधले ‘अपहरण’ गरेको छ।’

होन्डुरसमा सन् २०१९ मा पनि यस्तै घटना भएकोे थियो, जहाँ दुई पुरुष जेलमा भएको झडपमा गिरोहका ४० सदस्यको मृत्यु भएको थियो।

होन्डुरसमा दुई प्रतिद्वन्द्वी आपराधिक संगठनहरू, ‘एट्टिन्थ स्ट्रिट’ गिरोह र एमएस–१३ गिरोहका महिला सदस्यहरूबीचको मुठभेडको क्रममा धेरै कैदीहरूको घाँटी थिचेर हत्या गरिएको छ। यस्तै, धेरैलाई छुरा प्रहार गरिएको छ।

राष्ट्रपति सिओमारा क्यास्ट्रोले घटनाबाट आफू स्तब्ध भएको बताउँदै जिम्मेवार अधिकारीलाई जवाफदेही बनाउन कडा कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। रासस

सुझावित समाचार