मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिन स्वीकृति दिन अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ।
मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सेन्जलाई निर्देशन दिएको हो। समितिले ब्रोकरको रोकिएको लाइसेन्स प्रक्रियालाई पनि निरन्तरता दिन निर्देशन दिएको छ।
समितिका ज्येष्ठ सदस्य सन्तोष चालिसेले जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया सुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको बताए। उनले धितोपत्र दलाल तथा अनुमतिपत्र दिँदा मापदण्ड पुगेको विषयमा अनुमतिपत्र दिने निकायलाई सतर्क हुन आग्रह गरे।
समितिले यसअघि धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया रोक्न निर्देशन दिएको थियो।