प्रिमियम मूल्यमा प्राथमिक सेयर (आइपिओ) निष्कासन गरेको घोराही सिमेन्टको सेयरमा फर्जी आवेदन परेको छ । कुल आवेदनमा एक करोड २० लाखभन्दा बढी कित्ताका लागि परेको आवेदन रद्द भएको छ । सोअनुसार प्रतिकित्ता चार सय ३५ रुपैयाँका दरले पाँच अर्ब २२ करोडबराबरको आवेदन फर्जी देखिएको सिडिएससीले जनाएको छ ।
यसमा १० लाख कित्ता सेयरका लागि आवेदन दिने १३ आवेदकमध्ये १० जनाको एक करोड कित्ताको आवेदन फर्जी देखिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए । उनका अनुसार दुईजनाको स्वीकृत भइसकेको छ भने एकजनाको आवेदन भेरिफाईको प्रक्रियामै छ ।
आइपिओ निष्कासनको रेटिङ र आइपिओमा परेको आवेदनमा कैफियतको आशंका गर्दै धितोपत्र बोर्डले कम्पनीको प्राथमिक सेयर निष्कासन प्रक्रिया नै स्थगन गरेको हो । शंकास्पद देखिएपछि धितोपत्र बोर्डले केयर रेटिङ नेपाललाई घोराहीको प्राथमिक सेयर रेटिङ गरे–नगरेको तीन दिनभित्र जवाफ पठाउन ३० जेठमा पत्राचार गरेको थियो । तर, सो पत्रको जवाफ नआउँदै घोराहीले सोमबार आइपिओको समयावधि बढाएर १४ असारसम्म पुर्याएको छ ।
बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ भन्छन्, ‘एक त रेटिङ गरे–नगरेको जवाफ आएन, अर्को कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समेत कम्पनीले म्याद थप गरेको देखियो, यसमा शंका छ, अनुसन्धान गर्छौँ ।’
यसरी देखियो शंकास्पद आवेदन
कम्पनीले ३२ जेठदेखि सर्वसाधारणलाई ६९ लाख ११ हजार ६ सय ७० कित्ता आइपिओ निष्कासन गरेको थियो । सय अंकित मूल्यमा तीन सय ३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता चार सय ३५ रुपैयाँका दरले आइपिओ खुला गरेको हो । सुरुवाती अवस्थामा कम्पनीको सेयर मूल्यमा लगानीकर्ताको आकर्षण देखिएको थिएन । कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयरसमेत बिक्री भएन ।
तर, सर्वसाधारणका लागि जारी सेयरमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेपछि शंकास्पद देखिएको नेपाल क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले बताए । त्यसमाथि पनि सुरुवाती चरणमा लगानीकर्ताको आकर्षक आवेदन पर्ने र पछि अस्वीकृत हुने क्रम बढ्दा शंकालाई बढाउन बल दियो । उनले भने, ‘सुरुमा हामीले ख्याल गरेनौँ, कहिलेकाहीँ मान्छेले झुक्किएर पनि गर्छन्, तर आवेदन पर्ने अस्वीकृत हुने धेरै देखिन थाल्यो अनि हामी सचेत भयौँ ।’
सिडिएससीका अनुसार सोमबार दुई बजेसम्म कम्पनीको सेयरमा १३ जनाभन्दा धेरैले प्रतिव्यक्ति १० लाखका दरमा आवेदन दिएको भेटिएको थियो । सो समयसम्म ८७ लाखभन्दा बढी कित्ता सेयरका लागि गरिएको आवेदन सोमबार दुई बजेसम्म अस्वीकृत भएको र साँझसम्म करोड २० लाखभन्दा धेरै कित्ता सेयरको आवेदन अस्वीकृत भएको सिडिएससीका सहायक प्रबन्धक योगराज जोशीले जानकारी दिए । उनले भने, ‘यो सामान्य घटना होइन, लगानीकर्ताको लगानी कति सुरक्षित छ भनेर देखाउन पनि निष्पक्ष छानबिन आवश्यक छ ।’ सिडिएससीका अनुसार अहिले बैंकहरूले आवेदनअनुसार खातामा रकम रहे–नरहेको जानकारी गराउँदैनन् ।
के हुन्छ लगानीकर्ताको पैसा ?
कम्पनीको सेयर निष्कासन प्रक्रिया तत्कालाई रद्द भएपछि लगानीकर्ताको रकम अब के हुन्छ भन्ने चासो बढेको छ । धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले कम्पनीको अनुसन्धान लम्बिए सर्वसाधारणको रकम फिर्ता गर्नुपर्ने हुन्छ । तर अनुसन्धानमा कुनै कैफियत नदेखिए स्वतः प्रक्रिया अगाडि बढ्छ । उनले भने, ‘कम्पनीको छानबिन गर्दा निकै गम्भीर देखियो भने अनुसन्धान लम्बिन्छ, त्यतिवेलासम्म लगानीकर्ताको पैसा होल्ड भएर बस्दैन ।’ कम्पनीको छानबिनमा कुनै त्यस्तै शंका देखिएन भने स्वतः प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।
फर्जी आवेदकलाई कारबाही गर्ने सिडिएससीको तयारी
पैसा नभएको वा सेयरका लागि अपुग रकम भएको बैंक खाताबाट आवेदन दिने लगानीकर्तालाई कारबाही हुने भएको छ । सिडिएससी एन्ड क्लियरिङले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट सेयर भरेमा कारबाही हुने बताएको हो । हालसम्म त्यस्तो अवस्थामा सेयर आवेदन रद्द मात्रै हुँदै आएको थियो ।
‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासन सेयर भर्दा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार झुटो एवं जालसाजीयुक्त कारोबार हुने भएकाले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कारबाही हुने व्यहोरा जानकारी गराउँछौँ,’ सिडिएससी एन्ड क्लियरिङको सूचनामा भनिएको छ ।
स्पष्टीकरण मागेका छौँ, जवाफ के आउँछ सोहीअनुसार प्रक्रिया अघि बढ्छ
मुक्ति श्रेष्ठ, प्रवक्ता, धितोपत्र बोर्ड
केयर रेटिङ नै नभएको कम्पनीलाई किन आइपिओमा स्वीकृत दिनुभयो ?
हामीलाई कम्पनीले रेटिङ गराएको जानकारी गराएर सक्कली प्रमाण पेस गरेको थियो । त्यसलै हामीले आइपिओ निष्कासनका लागि अनुमति दिएका हौँ । एउटा उदाहरण दिन्छु, कुनै विद्यार्थीले जागिर खानका लागि सर्किफिकेट बुझायो । तर, पछि सर्किफिकेट नक्कली रहेको थाहा भएपछि उसको जागिर पनि जान्छ, कारबाही पनि हुन्छ ।
अब कम्पनीको छानबिन कसरी हुन्छ ?
यस कम्पनीको छानबिनकै लागि आवेदन रद्द गरेका हाैँ । स्पष्टीकरण मागेका छौँ, जवाफ के आउँछ, सोहीअनुसार प्रक्रिया अघि बढ्छ ।
यस घटनाले लगानीकर्ताको लगानी असुरक्षित भन्ने देखायो नि ?
पक्कै पनि लगानीकर्तालाई आफ्नो लगानीप्रति चासो हुने नै भयो । यस्तो घटना नयाँ भयो, रद्द हुनु सामान्य भए पनि सांगठनिक रूपमा यस्तो प्रकृतिको घटनाले थप सचेत हुनुपर्ने र सिस्टमलाई बलियो बनाउनुपर्ने भएको छ ।