नेपालमा अमेरिकी पाठ्यक्रमको सम्भाव्यताबारे एक महिना लामो कार्यशाला सम्पन्न भएको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त इन्स्टिच्युट अफ एड्भान्स कम्युनिकेसन, एजुकेसन एन्ड रिसर्च (आइएसिइआर)ले १५ मे देखि १७ जुनसम्म यसबारे अन्तर्क्रिया चलाएको हो।
कार्यक्रमका संयोजक डा. ताराप्रसाद अधिकारीका अनुसार अमेरिकी अध्ययन पद्धतिलाई अभिवृद्धि गर्ने र नेपाल अध्ययनसम्बन्धी पाठ्यक्रम विकासको उद्देश्यका साथ वर्कसप आयोजना गरिएको थियो। कार्यशालामा अमेरिकी अध्ययन पाठ्यक्रमको परीक्षण गरेर नेपाली पाठ्यक्रमहरूमा समावेश गर्न सकिने सामग्री, शिक्षण विधि र मूल्यांकन प्रविधिका विषयमा छलफल भएको थियो।
यसका लागि आइएसिइआरले अमेरिकास्थित बोस्टन युनिभर्सिटीकी प्रोफेसर मेरी ब्याटनफेल्डलाई विज्ञ सल्लाहकारको रूपमा आमन्त्रण गरेको थियो। संयोजक अधिकारीले प्रोफेसर ब्याटेनफेल्डको अमेरिकी अध्ययनको क्षेत्रको गहिरो विज्ञता र अनुभव नेपालका सन्दर्भमा महत्वपूर्ण कोसेढुंगा साबित भएको बताए।
‘अमेरिकी अध्ययनसम्बन्धी कार्यशालाले नेपाल अध्ययनको क्षेत्रमा नयाँ सम्भावनाहरू खोज्न प्रोत्साहित गर्दै सहकार्यका लागि वातावरण बनेको छ। यसले नेपालको पाठ्यक्रमहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसले सरकारको लक्ष्य र विद्यार्थीहरूको विकसित आवश्यकताहरू पूरा गर्न सहयोगी हुनेछ,’ अधिकारीले नयाँ पत्रिकासँग भने।
