४७ वर्षपछि धान, मकै र गहुँमा स्थानविशेष मलखाद सिफारिस

आइतबार, ३ असार, २०८०
डिजिटल संस्करण

नार्कले जिंक र बोरोनाको मात्रालाई पनि सबै क्षेत्रहरूमा एक–एक किलोग्राम राख्न सुझाएको छ । जसमा प्रांगारिक मल न्यूनतम प्रतिहेक्टर ६ टन अनिवार्य राख्नैपर्ने, त्योभन्दा बढी राख्न सके अझ राम्रो हुने बताएको छ । 

कृषि अनुसन्धान परिषद् (नार्क)ले धान, मकै र गहुँ बालीका लागि स्थानविशेष मलखाद सिफारिस गरेको छ । कृषि बालीको उत्पादत्व वृद्धि र माटोको दिगो उपयोग बढाउन कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र, अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपाल बिउ तथा मल (एनएसएएफ) परियोजनाको संयुक्त प्रयासबाट धान, मकै र गहुँबालीका लागि स्थानविशेष मलखाद सिफारिस भएको हो । 

नार्कले ४७ वर्षपछि स्थानविशेष मलखाद सिफारिस गरेको नार्कअन्तर्गतका माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख श्रीप्रसाद विष्टले बताए । यसअघि सन् १९७६ मा पहिलोपटक कृषि विभागअन्तर्गतको माटो विज्ञान तथा कृषि रसायन विज्ञान महाशाखाले विभिन्न बालीका लागि मलखादको मात्रा सिफारिस गरेको थियो । तर, त्यतिवेला प्रजातिमा आधारित नभएर देशभरि एकरूपता दिन त्यस्तो व्यवस्था गरिएको विष्टको भनाइ छ । मलखादको मात्रा तराई, पहाड र हिमाली भेगका लागि समान थियो । तर, अहिले नार्कले गरेको अनुसन्धानले बाली प्रणाली, बालीको उत्पादनको लक्ष्य र बाली, मौसम आदि कुरालाई ध्यानमा राखेर मलखाद सिफारिस गरिएको विष्टको भनाइ छ । उनले भने, ‘मलखादको मात्र नमिल्दा हाम्रो माटो खराब हुँदै गएको छ, त्यसलाई बचाउन सन्तुलन मिलाउन स्थानविशेष सिफारिस गरेका हौँ ।’

नार्कले धान, मकै र गहुँका मुख्य बालीका लागि पूर्वी तराईमा पर्ने झापा मोरङ र सुनसरी, मध्य तराईमा पर्ने जिल्लामा पर्सादेखि सप्तरीसम्म र पश्चिम तराईका रुपन्देहीदेखि कपिलवस्तु र परासी तथा सुदूरपश्चिम तराईका बाँकेदेखि कञ्चनपुरसम्म, भित्री तराईका दाङ, सुर्खेत, चितवन, मकवानपुर नवलपुरका लागि नाइट्रोजनको मात्रा, प्रांगारिक मलको मात्रा र फस्फोरस, पोटासलगायतको मात्रा छुट्याएको छ । 

गहुँ बालीका लागि 
पूर्वी तराईका झापा, मोरङ, सुनसरीका लागि नाइट्रोजन एक सय ४० प्रतिकेजी पोटास ५०, फस्फोरस ५०, बोरोना केजी १.५ प्रतिहेक्टर र प्रांगारिक मल भने न्यूनतम ६ टनप्रति हेक्टर हुनपर्ने उल्लेख गरेको छ । नाइट्रोजन मात्रामध्ये तराईमा १३०, पश्चिम तराईमा १४०, सुदूरपश्चिम तराईमा १२५, भित्री तराईमा १२० र पहाडी भागमा १०० केजी प्रतिहेक्टर नाइट्रोजन मिसाउनका सिफारिस गरेको छ भने अन्य सबै क्षेत्रमा पोटास, बोरोन, फस्फोरस र प्रांगारिक मल पनि सबैमा प्रतिहेक्टर ६ टन न्यूनतम पुर्‍याउनुपर्ने र यसलाई जति पनि बढाउन सकिने नार्कले जनाएको छ ।

सुझावित समाचार