दुई रोपनी जग्गा पहिल्यै व्यक्तिको नाममा दर्ता
काठमाडौं महानगरपालिका– २९ का वडाध्यक्ष कुश ढकालले धोबीखोलाको करिब ११ रोपनी जग्गा नक्कली मोही खडा गरी व्यक्तिको नाममा नामसारी गर्न सिफारिस गरेको खुलेको छ । नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार ढकालले ११ माघ ०७७ मा काठमाडौं– २९ अनामनगरस्थित १० रोपनी १२ आना दुई पैसा एक दाम जग्गा केदारेश्वर महादेव गुठीको नाममा नामसारी गरी व्यक्तिलाई दिन सिफारिस गरेका हुन् ।
जग्गा नामसारीका लागि उनले एक नक्कली भोगचलनकर्ता (गुठियार) र १८ मोही खडा गरेका थिए । सोही आधारमा उनले धनीपुर्जा दिन गुठी संस्थानलाई सिफारिस गरेका थिए । त्यसआसपास कारोबार भएको चलनचल्तीको मूल्यअनुसार उक्त जग्गा एक अर्ब ७६ करोड मूल्यको हो ।
प्राप्त विवरणअनुसार वडाध्यक्ष ढकालले कित्ता नं. १, २, ५, ९, १०, ११, २०, २२, ३८, ४२, ६८, ७०, १७७, १८७, २०५, २०६, २४२ र २४३ को जग्गा व्यक्तिको नाममा धनीपुर्जा जारी गर्न त्रिपुरेश्वरस्थित कालमोचन गुठी शाखा कार्यालयलाई पत्र लेखेका थिए । गुठीलाई लेखिएको च.नं. १७९७ को पत्रअनुसार उक्त जग्गामा ०३८ देखि नै सम्बन्धित व्यक्ति बसोवास गर्दै आएको, उनीहरूले विद्युत् प्राधिकरणलाई बिल तिरेको र निर्वाचन आयोगको मतदाता सूचीमा समेत उनीहरूको नामावली रहेको हुँदा धनीपुर्जा बनाइदिन उल्लेख छ ।
काठमाडौं महानगरपालिकाको लेटरहेडमा ढकालको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘गुठी तैनाथी जग्गामा घर–टहरा बनाई भोगचलन गर्दै आएकोमा मोही कायम गरिदिने भन्ने कानुनी व्यवस्था भएको र २६ चैत ०४६ पहिलेदेखि गुठी तैनाथी जग्गामा आफ्नो पुँजी लगाई घर बनाएर बसी भोग गरिरहेकामा लालपुर्जा दिनेसम्मको कुराको कानुनी व्यवस्था भएको हुँदा उक्त जग्गा केदारेश्वर महादेव गुठीको नाममा चौतारिया फत्तेजंग पराक्रम शाहको मौजाअन्तर्गत रहेकाले निजको नाममा जग्गा धनीपुर्जा बनाइदिनहुन विनम्र अनुरोधका साथ सिफारिस गर्दछु ।’
पत्रमा उल्लेख भएअनुसार उनले भीमबहादुर खड्का, रामबहादुर तोम, पृथ्वीराम पौडेल, विष्णुप्रसाद खतिवडा, भूमिनन्द अधिकारी, कृष्ण गुरुङ, बालिका थापा, रञ्जन भण्डारी, विद्या कोइराला, हिरामाया मोक्तान, वादुलाल तामाङ, कृष्णबहादुर गुरुङ, गणबहादुर तोम, मानबहादुर गुरुङ, सोमबहादुर खड्का, प्रेमबहादुर लामा, कृष्णबहादुर खत्री र कैलाश श्रेष्ठलाई नक्कली मोही बनाएका छन् । त्यस्तै, चौतारिया फत्तेजंग पराक्रम शाहलाई जग्गाको नक्कली भोगचलनकर्ता (मौजा) बनाएका छन् ।
तर, वडाध्यक्ष ढकालले भने गुठीको जग्गालाई नक्कली भोगचलनकर्ता र मोही खडा गरी धनीपुर्जा बनाउन कसैलाई सिफारिस नगरिएको दाबी गरे । १८ मोहीका नाममा धनीपुर्जा बनाउन गुठीमा पठाइएको पत्र नक्कली रहेको पनि उनको दाबी छ ।
नयाँ पत्रिकासँग भने, ‘धोबीखोलाको जग्गा व्यक्तिलाई दिन मैले कसैलाई सिफारिस गरेको छैन । तपाईंले देखाउनुभएको कागजात सबै नक्कली हुन् । कसैले महानगरपालिकाको नक्कली लेटरहेड बनाएर गुठीमा पत्र पठाएछ । पत्रमा मेरो नाम उल्लेखित स्ट्याम्प लगाएछ । पत्रमा उल्लेखित मेरो हस्ताक्षर पनि नक्कली हो । त्यसैले यो धन्दामा मेरो कुनै संलग्नता छैन ।’
जग्गाको भोगचलन ०३८ देखि हुँदै आएको प्रमाणित गर्न ढकालले नक्कली सर्जमिन गराएका छन् । सर्जमिनमा सात व्यक्तिको नाम उल्लेख छ । तर, उनीहरूमध्ये कोही पनि वडा नं. २९ का स्थानीय होइनन् । सर्जमिनपत्रमा प्रत्येकको औँठाछाप र हस्ताक्षर गरिएको छ । रोहवरमा वडाध्यक्ष ढकाल आफैँ बसेका छन् । पत्रलाई प्रमाणित गर्न वडाध्यक्षको नाम उल्लेख भएको छाप लगाइएको छ र पत्रमा उनको हस्ताक्षर उल्लेख छ ।
सर्जमिनपत्रका सन्दर्भमा पनि वडाध्यक्ष ढकालको तर्क छ, ‘सर्जमिनपत्रमा उल्लेख भएको नाम छ नि, ती कोही पनि यहाँका स्थानीय होइनन् । किनकि उनीहरूको नागरिकता मसँग भए पो । पत्रमा लगाइएको मेरो नाम उल्लेखित स्ट्याम्प मेरो होइन, हस्ताक्षर पनि मेरो होइन । वडाध्यक्षले थोडी जग्गा धनीपुर्जा वितरण गर्ने हो र ? सिफारिस गर्दा रोहवरमा बस्नेसम्मको काम हुन सक्ला । मैले कसैलाई जग्गा दिएको नै हो भने प्रमाणित गर्नुस् न ।’
यसरी भयो सिफारिसको किर्ते काम
०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवार थिए, ढकाल । उनी वडामातहतका प्रत्येक मतदाताको मत खेर फाल्न चाहँदैनथे । विगतमा धोबीखोला बग्ने करिब साबिकको २१ रोपनी क्षेत्रफल जग्गा कब्जा गरेर १८ घरधुरी केही वर्षदेखि अनामनगरमा बस्दै आएका थिए । ढकाल उनीहरूको मत तानेर चुनाव जित्न चाहन्थे । यही क्रममा उनले १८ वटै घरधुरीलाई रहेबसेकै ठाउँमा धनीपुर्जा बनाइदिने गोप्य सहमति गरे र उनीहरूको मत सुरक्षित गरे ।
निर्वाचन भयो, उनले चुनाव पनि जिते । पूर्वसहमति कार्यान्वयन गर्न १८ घरधुरीका प्रतिनिधि वडा कार्यालय धाउन थाले । दबाबमा रहेका ढकाल उपायको खोजीमा थिए । यही क्रममा उनको दिमागमा आइडिया फुर्यो– धोबीखोला कब्जा गरी बसालिएको जग्गा गुठीको नाममा लैजाने, नक्कली गुठियार खडा गर्ने र १८ वटै घरधुरीलाई सोही जग्गाको धनीपुर्जा बनाएर दिने ।
नक्कली मोही खोज्न उनले दुःख गर्नुपरेन । तर, नक्कली गुठियार खडा गर्न मुस्किल पर्ने भयो । उनका निकटस्थ हितैषी थिइन्, सिर्जना शाह । अविवाहित उनी चौतारिया फत्तेजंग पराक्रम शाहकी नातिनी थिइन् । फत्तेजंगको मृत्यु भइसकेको थियो । भविष्यमा लफडा नहुने निश्चित भएपछि उनी फत्तेजंगलाई नक्कली गुठीयार बनाउने निष्कर्षमा पुगे ।
सोहीअनुसार रातारात धोबीखोलाको करिब ११ रोपनी जग्गा केदारेश्वर महादेव गुठीको नाममा लगियो । चौतारिया फत्तेजंगलाई गुठियार बनाइयो । १८ घरधुरीलाई नक्कली मोही बनाइयोे । सर्जमिनका लागि सात नक्कली स्थानीय खडा गरियो र कागजात तयार गरेर धनीपुर्जा वितरण गर्न गुठी कार्यालयमा सिफारिस गरियो ।
जहाँ धोबीखोला बग्थ्यो
२८ पुस ०२२ को नापी नक्साअनुसार साबिकको धोबीखोला हालको अक्सिटेन्डल स्कुल, गोर्खाचोक हुँदै युनियन हाउसबाट केदारेश्वर महादेव मन्दिर निस्किएर हालको मदन मण्डारी मेमोरियल कजेजतर्फ बग्थ्यो । पछि धार बदलेर धोबीखोला सीधै मदन भण्डारी मेमोरियल कजेजतर्फ बग्न थाल्यो । खाली जग्गालाई नर्कटले ढाक्यो । जग्गातर्फ कसैको ध्यान थिएन ।
०४२ मा पुनः नापी भयो । पहिले धोबीखोला बग्ने जग्गा १४३ कित्तामा समेटियो । त्यसवेला जग्गाको क्षेत्रफल २३ रोपनी थियो । पछि अनामनगरआसपास बस्ती विस्तार अस्वाभाविक तवरले बढ्यो । धोबीखोला बग्ने जग्गा मिचिन थाल्यो । यही क्रममा ५ वैशाख ०५९ मा उक्त जग्गा ६९७, ६९८ र ६९९ मा पुनः कित्ताकाट भयो । जसमध्ये किता नंं. ६९७ को जग्गा सरकारले चन्द्रबहादुर थापासँग सट्टाभर्ना गर्यो । जुन पछि पुनः सरकारको नाममा फिर्ता भइसकेको छ । ६९८ र ६९९ किता नंं. जग्गा बाँकी रह्यो । वडाध्यक्ष ढकालले १८ घरधुरीलाई जग्गा धनीपुर्जा बनाइदिन सिफारिस गरेको सोही जग्गामध्येबाट हो ।
दुई रोपनी जग्गा पहिल्यै व्यक्तिको नाममा दर्ता
धोबीखोलाको जग्गा मिच्नेमा अन्य पनि छन् । तथ्य पत्ता लगाउन तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयले २७ पुस ०६३ मा नापी विभागका तत्कालीन उपमहानिर्देशक कृष्णराज अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनअनुसार काठमाडौं– २९ तर्फ मात्रै धोबीखोलाको १७ रोपनी तीन आना एक दाम जग्गा रहेकोमा दुई रोपनी दुई दाम दुई पैसा व्यक्तिको नाममा दर्ता भएको छ । उक्त जग्गा शान्ता दाहाल, हरिप्रसाद गिरी, मोहन महर्जन, राजीव श्रेष्ठ, आजिम श्रेष्ठ, सविता श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, बालकृष्ण महर्जनको नाममा दर्ता भएको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये केही जग्गा सरकारको नाममा फिर्ता आइसकेको छ भे केही अझै व्यक्तिकै नाममा छ ।