हेटौँडाको बजेट २ अर्ब ६० करोड, चालू आवको भन्दा ११ करोड कम

शनिबार, २ असार, २०८०
डिजिटल संस्करण

बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ को लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रूपैयाँको बजेट प्रस्तुत गरेको छ। शनिबार भएको उपमहानगरको १३औँ नगरसभामा उपप्रमुख राजेश बानियाँले आर्थिक वर्ष ०८०/८१ को लागि चालू आवको भन्दा ११ करोड रुपैयाँ कम बजेट सार्वजनिक गरेका हुन्।

आर्थिक वर्ष ०८०/८१ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा आन्तरिक स्राेतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रुपैयाँ, राजस्व बाँडफाँडबाट ५९ करोड १४ लाख १० हजार ७ सय ३० रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ।

उपमहानगरपालिकाले महिला तथा बाल विकास कोष, वातावरण विकास कोष, मर्मत सम्भार कोष, विपद् व्यवस्थापन कोष, गरिबी न्यूनीकरण तथा सामाजिक परिचालन कोष, मानव संसाधन विकास कोष खर्चसमेतका लागि ४ करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ।

उपमहानगरपालिकाले वडा कार्यालयहरूको प्रशासनिक भवन निर्माण तथा स्तरोन्नतिका लागि निर्माण कार्य प्रारम्भ गर्न, अधुरा कार्य सम्पन्न गर्न, मर्मत सम्भार कार्यको लागि १ करोड १५ लाख रुपैयाँ, सडकमा उज्यालो सहर कार्यक्रमअन्तर्गत हाई मास्ट लाइट जडानका लागि ७० लाख रुपैयाँ, आकस्मिक मर्मत सम्भारका लागि २ करोड रुपैयाँ, पर्यटकीय स्थल पूर्वाधार निर्माणका लागि १ करोड रुपैयाँ, संस्कृति प्रवर्द्धनअन्तर्गत पूर्वाधार निर्माण मर्मत तथा जिर्णोद्वारका लागि २ करोड ४७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

त्यस्तै, हेटौँडा अस्पतालको स्तरोन्नति र पुँजीगत सुधारका लागि ८० लाख रुपैयाँ, अटोभिलेज निर्माण र स्तरोन्नतिका लागि ८० लाख रुपैयाँ, कर्रा करिडोर निर्माणको निरन्तरताका लागि १ करोड रुपैयाँ, राप्ती करिडोर निर्माण प्रारम्भ गर्न ५० लाख रुपैयाँ, बसपार्क क्षेत्रमा रहेको हङकङ बजारलाई व्यवस्थित पूर्वाधारसहित हेटौँडा कम्प्लेक्समा रूपान्तरण गर्न निर्माण कार्य प्रारम्भका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पिप्ले क्याम्पा रंगशाला स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ, तामाङ संग्रहालय निर्माणका लागि ५० लाख रुपैयाँ, वडा गौरवका योजनाका लागि ३ करोड ४० लाख रुपैयाँ, वडा नम्बर ७ र ८ को सिमाना सडकलाई नमुना सडक निर्माण कार्यको निरन्तरताका लागि १ करोड रुपैयाँ, विपद् व्यवस्थापन कोषतर्फ २ करोड रुपैयाँ विनियोजन गरिएको छ।

उपमहानगरपालिकाले पूर्वाधार विकास क्षेत्रभित्र पर्ने सडक, खेल मैदान ऊर्जा, सडक बत्ती, आवास व्यवस्था, जलस्राेत, पर्यटन, भवन तथा आवास, सिँचाइलगायत नगरस्तरीय पूर्वाधारतर्फ ६२ करोड ३ लाख विनियोजन गरेको छ भने वडा तथा बस्तीस्तरीय योजना तथा कार्यक्रमका लागि ३८ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

उपमहानगरपालिका क्षेत्रमा एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि क्रमागत योजनाअन्तर्गत आगामी आर्थिक वर्षको लागि ८ करोड रुपैयाँ, हेटौँडा– ४ मा निर्माणाधीन बहुवर्षीय योजनाअन्तर्गत वासुदेव बहुउद्देश्यीय व्यापारिक भवनका लागि २ करोड रुपैयाँ, सहरी सडक मर्मत सम्भारका लागि सडक बोर्ड नेपालसँगको लागत साझेदारीमा योजना सञ्चालन गर्न एक करोड ९५ लाख रुपैयाँ, संघीय सरकार समपूरक कोषअन्तर्गत पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ, संघीय सरकार र प्रदेश सरकारतर्फको समपूरक कोष योजनाका लागि ३ करोड ७५ लाख रुपैयाँ, खानेपानी व्यवस्थापन गर्न हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग साझेदारी कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै, उपमहानगरपालिकाले न्यूनतम महसुल रकम भुक्तानीको लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उपमहानगरपालिकाले कृषि विकासतर्फका विविध कार्यक्रम तथा योजना सञ्चालन गर्न ससर्तसमेत गरी ५ करोड ४ लाख रुपैयाँ, पशु विकासतर्फका विविध कार्यक्रम तथा योजना सञ्चालन गर्न २ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उद्योग, बाणिज्य, सहकारी तथा लघु उद्यमतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ८५ लाख रुपैयाँ, पर्यटनतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले रोजगार प्रवर्द्धनतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ६९ लाख रुपैयाँ, प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजनाका लागि ससर्ततर्फ ८५ लाख रुपैयाँ, अव्यवस्थित बसोवास तथा भूमि समस्या समाधान आयोजनासम्बन्धी कार्यका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक विकास क्षेत्रभित्रका चालू कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि ११ करोड ७६ लाख रुपैयाँ  विनियोजन गरिएको छ।

त्यसैगरी, उपमहानगरपालिकाले शिक्षातर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ससर्तसमेत गरी ७६ करोड ५५ लाख रुपैयाँ, स्वास्थ्यतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न ससर्तसमेत गरी ६ करोड ९० लाख रुपैयाँ, युवा तथा खेलकुदतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न २ करोड ९७ लाख रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड ४२ लाख रुपैयाँ, महिला तथा बालबालिका, अपांग र जेष्ठ नागरिकतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न १ करोड ५१ लाख रुपैयाँ, संस्कृति प्रवर्द्धनतर्फका कार्यक्रम तथा योजना सञ्चालन गर्न रु. २ करोड ४७ लाख रुपैयाँ, न्यायिक समिति सञ्चालन तथा व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले सामाजिक विकासअन्तर्गत शिक्षातर्फको ससर्त र आन्तरिक बजेटतर्फको कार्यक्रम र पुँजीगत योजना तथा कार्यक्रमका लागि ९२ करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ। फोहरमैला व्यवस्थापन र ढल तथा नाला पूर्वाधारतर्फका योजना तथा कार्यक्रमका लागि ५ करोड ६८ लाख रुपैयाँ, बारुणयन्त्र सञ्चालन र व्यवस्थापनका लागि ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सुझावित समाचार